२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

विराटनगर टाइटन्सको लगातार दोस्रो हार



पोखरा ।

पोखरामा जारी पोखरा प्रिमियर लिग पिपिएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सले लगातार दोस्रो हार बेहोरेको छ । शुक्रबार पोखरा पल्टनसँग हार बेहोरेको विराटनगरले आइतबार धनगढी ब्लुजसँग ७८ रनले पराजित भयो। पोखरा क्रिकेट मैदानमा आइतबार (आज) सम्पन्न पहिलो खेलमा १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ४ बलमा मात्र १०४ रन बनाउँदै अलआउट भयो ।

विराटनगरका लागि सुनिल धमलाले २१, मुहमद जैद आलमले १९, एन्ड्रियु सुबिक्सनले १८ तथा कप्तान सन्दीप १० रन बनाए । विराटनगरविरुद्ध धारिलो बलिङ गर्ने क्रममा ड्यान लरेन्सले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। यसअघि, टस गुमाएर पहिले ब्याटिङको निम्तो पाएको धनगढीले निर्धा्रित २० ओभर पूरै खेल्दै सबै विकेट गुमाएर १८२ रन बनायो।

खेलको सुरुवातमा खुलेर खेल्न नसकेको धनगढीले तेस्रो ओभरमै ओपनर ड्यान विलियम लरेन्सलाई गुमायो। व्यक्तिगत २ रनमा बनाएर खेलिरहेका ड्यान लरेन्सलाई किशोर महतोले जितेन्द्र मुखियाको हातबाट क्याच आउट गराए ।

त्यस्तै चौथो ओभरमा अर्का ओपनर सन्दीप सुनारलाई ९ रनमा गुमाएको धनगढीको पारी इङ्लिस ब्याट्सम्यान पिटर ट्रेगोले सम्हाल्ने कोशिस गरे। खेलको म्यान अफ द म्याच बनेका पिटरले ३८ बलको सामना गर्दै २ चौका र ४ छक्काको मद्दतमा ५३ रन जोडे। त्यस्तै, सौरभ खनालले ४१, कप्तान दीपेन्द्र सिंह ऐरीले २९, सन्दीप जोराले १२ तथा रोविन क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटस्म्याहरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए। आगामी खेलमा सन्दीपको टिम जित्नै पर्ने दवाबको साथ मैदान उत्रनुपर्नेछ ।

प्रकाशित मिति : ११ कार्तिक २०७५ आइतबार ००:००  १० : ५८ बजे