५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

क्लव फुटव-लिभरपुल, चेल्सी, युनाइटेड र टोटनह्याम विजयी हुँदा सिटी पराजित



चन्द्रकान्त न्यौपाने ।
इङलिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी, युनाइटेड, टोटनह्याम्ले जित निकाल्दा सिटीले भने पराजय भोगेको छ । राति भएको खेलमा जित हासिल गरेको लिभरपुलले उपाधि होड बलियो बनाउँदा म्यानचेस्टर सिटी भने लगातार २ खेलमा पराजित हुँदा उपाधिहोड कमजोर बनेको हो ।
लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आफ्नो उपाधि होड बलियो बनाउँदै गएको छ ।लिग अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडमाथि ४–० को जित निकालेको हो । फलस्वरुप दोस्रो स्थानमा उक्लिएको टोटनह्यामसँगको अंक दूरी ६ बनाएको छ । लिभरपुलको जितमा डिजेन लोभरेन, मोहम्मद सालह, जेर्डान शाक्विरी र फाबिन्होले गोल गरे ।

चेल्सीको चमत्कारमा हाजार्ड
यस्तै गयराति नै चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । वाट्फोर्डमाथि २–१ को जित निकाल्ने क्रममा इडन हजार्डले दुई गोल गरे । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । पहिलो हाफकै इन्जुरी समयको तेस्रो मिनेटमा रोबर्टो परेयराले घरेलु टोली वाट्फोर्डका लागि बराबरी गोल फर्काए ।


लिग अन्तर्गत बुधबार राति नै भएको खेलमा पाँचौँ स्थानको आर्सनल ब्राइटनसँग १–१ को बराबरीमा रोकियो । अर्को खेलमा रेलिगेशन जोनबाट बाहिरि निस्किन प्रयासरत क्लाउडियो रानिएरीको टिम फुलह्याम वुल्भ्ससँग १–१ कै बराबरीमा रोकियो । राति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेस र कार्डिफले गोल रहित बराबरी खेलेका छन् । जितपछि चौथो स्थानको चेल्सीको १९ खेलबाट ४० हंक भएको छ । वाट्फोर्ड २७ अंकसहित नवौँ स्थानमा झरेको छ ।

युनाइटेडको लय
प्रशिक्षकबाट जोसे मोरिन्होलाई बर्खास्त गरेपछिका खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले लगातार जित निकाल्दै आएको छ ।मोरिन्हो बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकका रुपमा म्यानचेस्टर युनाइटेडले क्लबका पूर्व स्ट्राइकर ओल गुनार सोल्सकेएरलाई नियुक्त गरेको छ । उनको प्रशिक्षणमा युनाइटेडले लगातार दुई खेलमा जित निकालेको छ ।


गयराति युनाइटेडले हडल्र्सफिल्डमाथि ३–१ को जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा टिमलाई जिताउने क्रममा जोसेले महंगो मूल्य तिरेर क्लब भित्र्याएका पउल पोग्बाले दुई गोल गरे ।
बुधबार रातिको खेलमा दर्ता गरेको जितपछि छैटौँ स्थानको म्यानचेस्टर युनाइटेडको १९ खेलबाट ३२ अंक भएको छ । १० अंकसहित हडल्र्सफिल्ड पुछारमा पुगेको छ । माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार फराकिलो गोल अन्तरको जित निकाल्दै आफूलाई उपाधि होडमा बलियो बनाउन लगेको छ ।

टोटनह्यामको जित
लिग अन्तर्गत बुधबार राति भएको खेलमा घरेलु मैदानमा टोटनह्यामले बोनमाउथमाथि ५–० को जित निकालेको हो । यसअघि उसले गएको आइतबार भएको खेलमा एभर्टनलाई ६–२ ले हराएको थियो । यसको अर्थ टोटनह्यामले पछिल्ला दुई खेलमा ११ गोल गरेको छ भने दुई गोल मात्रै खायो ।महत्वपूर्ण जितपछि पनि टोटनह्यामका प्रशिक्षक पोकेटिनोले उपाधिको वास्तविक दाबेदार लिभरपुल र म्यानचेस्टर सिटी नै रहेको बताएका छन् ।यस्तै गएको आइतबार टोटनह्यामसँग ६–२ ले पराजित भएको एभर्टनले बुधबार राति भएको खेलमा भने शानदार जित निकाल्यो । अवे मैदानमा भएको खेलमा उसले बर्नलीलाई ५–१ ले हराएको छ । जितपछि आठौँ स्थानमा उक्लिएको एभर्टनको १९ खेलबाट २७ अंक भएको छ ।

म्यानचेस्टर सिटीको पराजय
साबिक विजेता तथा यो सिजन पनि उपाधि होडमा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो खेलमा पराजित भएको छ ।
लिग अन्तर्गत बुधबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी लेस्टर सिटीसँग २–१ ले पराजित भएको हो । अवे मैदानमा भएको खेलमा अन्तिम समयमा १० खेलाडीमा सीमित भएको म्यानचेस्टर सिटीले सुरुवाति अग्रता लिएर पनि हार टार्न सकेन ।

१४ औँ मिनेटमा बर्नार्डो सिल्भाको गोलबाट म्यानचेस्टर सिटीले अग्रता लियो । त्यसको पाँच मिनेटपछि लेस्टरका लागि मार्क अलब्राइटनले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रो हाफको त्यो पनि अन्तिमतिरको समय म्यानचेस्टर सिटीका लागि घातक बन्यो ।

८१ औँ मिनेटमा रिकार्डो परेइराले लेस्टरका लागि गोल गर्दै २–१ को जित निश्चित गरेका हुन् । खेलको ८९ औँ मिनेटमा फाबिएन डेल्फ सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सीमित भएको थियो ।

हारपछि म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ । उसको १९ खेलबाट ४४ अंक भएको छ र शीर्ष स्थानको लिभरपुल भन्दा सात अंकले पछि परेको छ ।दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको ४५ अंक भएको छ । म्यानचेस्टर सिटी यसअघि गएको शनिबार क्रिष्टल प्यालेससँग ३–२ ले पराजित भएको थियो ।

यो समिकरण होर्द शीर्ष स्थानको लिभरपुलको १९ खेलबाट ५१ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको ४५ तथा तेस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ४४ अंक छ ।

प्रकाशित मिति : १२ पुस २०७५ बिहिबार ००:००  १ : ४९ बजे