५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चन्द्रौटामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता



सीताराम चौधरी, कपिलवस्तु ।

शिवराज नगरपालिकाको शानको रुपमा हेरिएको नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको बुधबार पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई व्यवहारिक बनाउन नगरस्तरीय खेलकूद प्रतियोगिता संचालन गरिएको हो । खेलमा नगरक्षेत्रभित्र रहेका कूल ५८ विद्यालयमध्ये ५२ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।  खेललाई तीन तहमा विभाजन गरी तह अनुसार बालकालिकाहरुलाई खेलमा सहभागी गराइएको छ ।

पुस ८ गतेदेखि संचालन भएको खेलमध्ये बुधबारसम्म प्रावि र निमावि तहका सम्पूर्ण खेल सम्पन्न भइसकेको खेल व्यवस्थापक एवं शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्माले जानकारी दिनुभयो ।

प्रावितर्फ एक सय मिटर दौड, कुर्सी दौड, चम्चा दौड, भित्रबाहिर, तातो आलु, चित्रकला र घैंटा फोर गरी ७ खेल समाबेश गरिएको थियो । एकसय मिटर दौडमा छात्रातर्फ मनकामना प्रावि करहियाकी पूजा थारु प्रथम, शिवराज आधारभूत विद्यालय ढाणखोलाकी सुस्मिता वि.क. द्वितीय र बालशिक्षा मावि हल्लानगरकी एलिना घर्ती तृतीय स्थान हासिल गरेका थिए । छात्रतर्फ पाइनियर एकेडेमीका अनारुल्ला गद्दी प्रथम, प्रमेश्वर एकेडेमीका मैनउद्दिन गद्दी द्वितीय र निमावि धर्मनगरका धर्मेन्द्र केवट तृतीय भएका थिए ।

कुर्सी दौडमा छात्रातर्फ जनता प्रावि लालपुरकी रीता नाउ प्रथम, शिवराज आधारभूत विद्यालय भलुहीकी विक्सा थारु द्वितीय र बेवरभवानी प्रावि मैनारकी गरिमा थारु तृतीय हुन सफल भए । त्यस्तै छात्रतर्फ जनता निमावि मद्रहवाका पवन थारु प्रथम, गोल्डस्टार बोर्डिङ स्कूल थुन्हियाका शिवनारायण गुप्ता द्वितीय र नेपाल राष्ट्रिय आधारभूत विद्यालय भगवानपुरका बादल चौधरी तृतीय स्थान ल्याउन सफल भएका थिए ।

प्राविको चम्चा दौडमा छात्रातर्फ त्रिभुवन आदर्श माविकी सुभावतीदेवी बढई प्रथम स्थान हात पारिन् । छात्रतर्फ पनि सोही विद्यालयका रन्जीत कोरी प्रथम भए । यस्तै छात्रातर्फ दोस्रो स्थान ल्याउनेमा नेपाल राष्ट्रिय प्रावि शितलापुरकी पुष्पा कोहार भइन् भने छात्रतर्फ दोस्रो हुनेमा शेष प्रावि जवाभारीका विनोद यादव रहेका छन् । त्यसैगरी तेस्रो स्थान ल्याउनेमा छात्रातर्फ महेन्द्र आधारभूत विद्यालय बर्गदवाकी सारधना यादव र छात्रतर्फ ज्ञानोदय आधारभूत विद्यालय सेमरीका दुर्गा पौडेल रहेका छन् ।

भित्रबाहिर खेलमा मनकामना प्रावि करहियाकी छात्रा रेनुका थारु र आधारभूत विद्यालय मदवाका छात्र राजु थारु प्रथम स्थान ओगट्न सफल भए । किशोर आधारभूत विद्यालय लालपुरकी छात्रा सीमा गिरी र राष्ट्रिय मावि चन्द्रौटाका छात्र प्रदिप यादव द्वितीय भए भने बेवरभवानी प्रावि मैनारकी छात्रा अञ्जली थारु र बुद्ध आधारभूत विद्यालय हर्रहवाका छात्र विराज थारु तृतीय स्थानमा आएका थिए ।

तातो आलु खेलमा छात्रातर्फ प्रथम स्थानमा प्रमेश्वर एकेडेमीकी खुशी थारु, द्वितीय स्थानमा सरस्वती आधारभूत विद्यालय शिवपुरकी करिना थारु र तृतीय स्थानमा प्रावि मोतीनगरकी सन्ध्या यादव भएका थिए । यस्तै छात्रतर्फ दुर्गा भगवती मावि नयाँबस्तीका अर्जुन मगर प्रथम, मेरील्याण्ड एकेडेमी नवडिहवाका विज्ञान सुनार द्वितीय र राष्ट्रिय मावि चन्द्रौटाका जितेन्द्र चौधरी तृतीय स्थान ओगट्न सफल भए ।

घैंटो फोर खेलमा छात्रातर्फ शिव आधारभूत विद्यालय भलुहीकी गौरी थारु र छात्रतर्फ राष्ट्रिय मावि चन्द्रौटाका राहुल केवट पहिलो भएका थिए ।

निमावि तहमा कूल ५ खेलमध्ये ४ खेल सम्पन्न भएका छन् । जसमध्ये १ सय मिटर दौड, २सय मिटर दौड, ४सय मिटरको रिले दौड र लङजम्प खेल सम्पन्न भएका हुन् । कबड्डी खेल भने स्थगित गरिएको आयोजकले जनाएको छ । सम्पन्न खेलमध्ये १सय मिटर दौडमा छात्रतर्फ राष्ट्रिय मावि चन्द्रौटाका मुकेश चौधरी प्रथम, नेपाल राष्ट्रिय निमावि भगवानपुरका मनिष थापा द्वितीय र प्रकाश मावि सुन्दरीडाँडाका आशिष चौधरी तृतीय भएका थिए । भने छात्रातर्फ प्रकाश मावि सुन्दरीडाँडाकी अन्जली थारु प्रथम, रंगीलाल मावि सडवाकी उषा कुर्मी द्वितीय र नेपाल आदर्श मावि शिवपुरकी सर्मिला खडका तृतीय स्थान ल्याएका थिए ।

२सय मिटरको दौडमा छात्रातर्फ नेपाल आदर्श मावि शिवपुरकी सर्मिला खडका प्रथम, बालज्योति मावि विसुनपुरकी फुलकुमारी दोस्रो र सरस्वती निमावि शिवपुरकी सन्जी थारु तृतीय स्थान ओगटे । यस्तै छात्रतर्फ प्रथम स्थानमा राष्ट्रिय मावि चन्द्रौटाका दिनेश थारु, दोस्रोमा बालशिक्षा मावि हल्लानगरका नविन गुरुङ र तेस्रोमा जनता निमावि मद्रहवाका देवराज थारु भएका थिए ।

निमाविको ४सय मिटर रिले दौडमा  सरस्वती निमावि शिवपुरका छात्राहरु प्रथम स्थान ल्याउन सफल भए । यस्तै दोस्रो स्थानमा नेपाल आदर्श मावि शिवपुर र तेस्रोमा राष्ट्रिय मावि चन्द्रौटाका छात्राहरु समेटिएका थिए । छात्रतर्फ भने राष्ट्रिय मावि चन्द्रौटा प्रथम, प्रकाश मावि सुन्दरीडाँडा द्वितीय र बालशिक्षा मावि हल्लानगर तृतीय भएका थिए ।

यसैगरी निमावि तह लङजम्पमा छात्रातर्फ बालज्योति मावि विसुनपुर पहिलो, राष्ट्रिय मावि चन्द्रौटा दोस्रो र सरस्वती मावि बनियाभार तेस्रो भएका थिए । भने छात्रतर्फ राष्ट्रिय मावि चन्द्रौटाले प्रथम, जनता निमावि मद्रहवाले द्वितीय र प्रकाश मावि सुन्दरीडाँडाले तृतीय स्थान ल्याएका थिए ।

यता मावितर्फ कूल ७ खेल हुने आयोजकले उद्घोष गरेपनि ६ वटा खेल भएका छन् । जसमध्ये १सय मिटर दौड, २सय मिटर दौड, ४सय मिटर रिले दौड, लङजम्प र सटफुटको फाइनल खेल सम्पन्न भइसकेका छन् । भने भलिबल छात्र र छात्रा दुवैको सेमीफाइनल खेल भएको छ । मावितर्फको कबड्डी खेल पनि स्थगित गरिएको बताइएको छ ।

मावितर्फ भएका फाइनल खेलमध्ये १ सय मिटरमा प्रथम स्थान हात पार्ने छात्रातर्फ एलिना भण्डारी र छात्रतर्फ विद्रोहन थारु दुवै समयथान मावि खरेन्द्रपुरका हुन् । यस्तै दोस्रो स्थानमा प्रकाश मावि सुन्दरीडाँडाकी सुप्रिया बराल र सोही विद्यालयका रमेश चौधरी भएका छन् । यसका साथै तेस्रो स्थानमा छात्रातर्फ बालशिक्षा मावि हल्लानगरकी रीता बुढा र छात्रतर्फ राष्ट्रिय माविका प्रताप थारु आउन सफल भएको मावितर्फका खेल संयोजक टिकाराम पाण्डेले जानकारी दिनुभयो ।

२सय मिटरको दौडमा पनि समयथान मावि खरेन्द्रका छात्र छात्रा दुवैले प्रथम स्थान हात पारेका छन् । यस्तै दोस्रो स्थानमा छात्रतर्फ राष्ट्रिय मावि चन्द्रौटा र छात्रातर्फ प्रकाश मावि सुन्दरीडाँडा आउन सफल भएको छ । भने तेस्रो स्थानमा छात्रतर्फ मावि हल्लानगर र छात्रातर्फ मावि चन्द्रौटा समेटिएका छन् ।

मावितर्फ ४सय मिटरको रिले खेलमा भने छात्रामा नेपाल आदर्श मावि शिवपुर प्रथम, समयथान मावि खरेन्द्रपुर द्वितीय र प्रकाश मावि सुन्दरीडाँडा तृतीय स्थानमा आउन सफल भए भने छात्रतर्फ राष्ट्रिय मावि चन्द्रौटा पहिलो, प्रकाश मावि सुन्दरीडाँडा दोस्रो र नेपाल आदर्श मावि शिवपुर तृतीय भएका थिए ।

लङजम्प खेलमा राष्ट्रिय मावि चन्द्रौटाका छात्र महेश थारु प्रथम, प्रकाश मावि सुन्दरीडाँडाका छात्र श्यामबाबु चौधरी द्वितीय र समयथान मावि खरेन्द्रपुरका छात्र रमेश मौर्य तृतीय भएका थिए । यस्तै छात्रातर्फ नेपाल आदर्श मावि शिवपुरकी अंगिता थारु प्रथम, समयथान मावि खरेन्द्रपुरकी कमला पाण्डे द्वितीय र राष्ट्रिय मावि चन्द्रौटाकी सुजाता रेग्मी तृतीय स्थान हासिल गरेको खेल आयोजकले जानकारी दिएको छ ।

राष्ट्रिय मावि प्राङ्गणमा संचालन भइरहेका खेलमा विद्यालयहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले दाबी गरेको छ । विद्यालय विद्यालयबीच प्रतिष्पर्धात्मक भावनासँगै एकताको भाव जगाउन शिवराज नगरपालिकाको आर्थिक सहयोगमा खेल संचालन भएको शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्माले जानकारी दिनुभयो । खेलकूदले विद्यार्थीको पढाइ र विद्यालयप्रतिको आकर्षण पनि बढ्ने विश्वास गरिएको छ । खेल १२ गते बिहीबार समापन हुने आयोजकले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : १२ पुस २०७५ बिहिबार ००:००  २ : ४२ बजे