१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुका सबै स्थानीय तहमा बैंकको पहुँच



दिपक अनुरागी, कपिलवस्तु ।
आजभन्दा १० बर्ष अघि जीतपुर चारनम्बर क्षेत्रमा बैंक स्थापना गर्न निकै कसरत गर्नुपरेको सम्झना वाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालसंग ताजै छ । वाणगंगामा पहिलो बैंकको रुपमा भृकृटी डेभलपमेन्ट बैंकले आफ्नो सेवा सुरु गरेको थियो । आज भन्दा झण्डै १० बर्ष अघि । बैंकका तत्कालिन अध्यक्ष स्व. नहकुल पाठकले बैंकको शाखा गोरुसिंगे वा चन्द्रौटा खोल्ने योजना बनाएका थिए । तर, यहाँका नेता, उद्योगी व्यवसायीको जोडबलले बैंकले चारनम्बरबाट सेवा प्रारम्भ ग¥यो । बैंक स्थापना गर्न पहल गर्ने तत्कालिन बैंकका अध्यक्ष नहकुल शाहको स्वर्गारोहण भैसकेको छ । तत्कालिन भृकृटी डेभलपमेन्ट बैंक अहिले एनएमवी बैंक लिमिटेडको रुपमा रुपान्तरण भएको छ ।
आज भन्दा दश बर्ष अघि यस क्षेत्रमा बैंकहरु खुल्नु ठूलो कुरा थियो । उद्योगधन्दा कमै मात्रामा रहेको यस क्षेत्रमा बैंकहरु स्थापना हुनु चुनौती पूर्ण नै थियो । तर, अहिले त्यो अवस्था छैन । बैंकहरु नाफा मूलक संस्था मात्र होइनन । उनीहरु विकासको सम्वाहक हुन भन्ने कुराको प्रमाणित जिल्लाका सबै स्थानीय तहमा बैंकहरु पुगेर प्रमाणित गरिसकेका छन । विकासको दृष्टिले पछाडी परेका र उद्योगधन्दा कमै मात्र भएका स्थानीय तहमा पनि बैंकको सेवा पुग्न थालेको छ । स्थानीय तहमा बैंक पु¥याउने सरकारी नीतिअनुसार कपिलवस्तुका सबै स्थानीय तहमा बैंकका शाखा पुगेका हुन  ।
अहिले जिल्लाका दशवटै स्थानीय तहमा बैंक पुगेका छन । जिल्लाकै सुदुरपश्चिम क्षेत्रमा अवस्थित विजयनगर गाउँपालिकामा समेत बैंकको पहुँच पुगेको छ । यही आवको भदौबाट गाउँपालिकामा राष्ट्रिय स्तरको ‘क’ बर्गको प्रभु बैंक लिमिटेडले आफ्नो सेवा प्रारम्भ गरेको गाउँपालिकाले जनाएको छ । बैंक स्थापना नहुँनु पूर्व यस गाउँपालिकाको कारोबार चन्द्रौटा र कृष्णनगरबाट हुँदै आएको थियो । गाउँपालिकामा बैंक पुगे पछि आर्थिक कारोबार गर्न सहज भएको गाउँपालिका प्रमुख गोपाल थापाले बताए । ‘विकासको गतिले पछाडी परेको क्षेत्रमा बैंकिङ सेवा पुगेको छ गाउँपालिकाका प्रमुख थापाले भने, “यो राम्रो पक्ष हो ।” त्यहीमा पनि गाउँपालिकामा राष्ट्रिय स्तरको बैंक पुग्नु स्वागतयोग्य काम हो । सरकारी निती अनुसार बैंक पुगे पनि आफुहरुको पहल भने गरिरहेको उनले बताए । बैंक स्थापना भएपछि बैंकिङ सेवा लिनका लागि चन्द्रौटा, कृष्णनगर पुग्नु पर्ने बाध्यता हटेको छ, सर्वसाधारणलाई पनि सहज भएको उनले भने ।
विजयनगरसंगै विकासको गतिमा पछाडि परेको भारतीय सिमावर्ती यशोधरा गाउँपालिका पनि एक हो । यस गाउँपालिकामा पनि बैंकको पहुँच पुगेको छ । गत बर्ष देखि नै यहाँ सिद्धार्थ बैंक लिमिटेडले आफ्नो सेवा दिइरहेको गाउँपालिका प्रमुख गिरिजेश पाण्डेयले बताए । यस्तै मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिमा पनि बैंकको पहुँच पुगेको छ । गाउँपालिका गठन नहुँदै मायादेवी गाउँपालिकाको पकडीमा बैंक स्थापना भैसकेका थिए । यहाँ महालक्ष्मी विकास बैंक लिमिटेड, एनआइसी एशिया बैंक लगायतका रहेका छन ।
जिल्लाका ६ ओटा नगरपालिका पनि बैंकको पहुँच राम्रो छ । विकासको दृष्टिकोणले अरु नगरपालिका भन्दा पछाडी रहेको महाराजगञ्जमा राष्ट्रिय स्तरका दुई बैंक सञ्चालनमा छन । जनता बैंक लिमिटेड र एनआइसी एशिया बैंकले त्यहाँबाट कारोबार गर्दै आएका छन । बैंकको सबै भन्दा राम्रो पहुँचमा रहेका नगरपालिका कपिलवस्तु, वाणगंगा, शिवराज र कृष्णनगर हुन । यी चार ओटै नगरपालिकामा सरकारी बैंक देखि दजर्नौ अरु बैंक सञ्चालनमा छन ।
जिल्ला सदरमुकाम समेत रहेको कपिलवस्तु नगरपालिकामा सरकारी बैंक कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकले लामो समय देखि सेवा दिइरहेका छन । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र वित्तिय संस्था पनि यहाँ दर्जनौ संख्यामा रहेका छन । विकासको गतिमा जिल्लाकै अग्रणी क्षेत्रमा पर्ने वाणगंगामा पनि राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले आफ्नो सेवा दिदै आएका छन । यस्तै एक दर्शन बढी अरु बैंक सञ्चालनमा छन भने बैंक स्थापना हुने क्रम यहाँ बढ्दो छ । पछिल्लो समयमा सिद्धार्थ बैंक लिमिटेड, कैलाश विकास बैंक र ज्योती विकास बैंकले यहाँबाट आफ्नो सेवा सुरु गरेका छन ।
शिवराज नगरपालिकामा नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो सेवा दिदै आएको छ । औद्योगिक क्षेत्र समेत रहेको शिवराजमा निजी क्षेत्रको ठूलो बैंक एसविआइ बैंक पनि सञ्चालन भैरहेको छ । यस्तै एभरेष्ट बैंक लिमिटेड लगायतका वाणिज्य बैंकहरुले पनि यहाँबाट कारोबार गरिरहेका छन । एसविआई बैंक नगरपालिकाबाट सञ्चालन हुनु राम्रो कुरा भएको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी बताउँछन । भारतको पञ्जाव नेशनल बैंक संग सहकार्य गर्दै आएको एसविआई बैंक चन्द्रौटामा स्थापना भए देखि भारतीय पेन्सिनवालाहरुलाई निकै सहज भएको उनले बताए । यसभन्दा अगाडी पेन्सिन बुज्न बैंक खोज्दै बुटबल जानुपर्ने बाध्यता थियो ।
नेपाल भारतको सीमानाका समेत रहेको कृष्णनगर नगरपालिकामा पनि बैंकको राम्रो पहुँच रहेको छ । औद्योगिक क्षेत्रको रुपमा चिनिने कृष्णनगर नगरपालिकामा सरकारी स्तरको कृषि विकास बैंक रहेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि यहाँबाट कारोबार गर्दै आएको छ भने एभरेष्ट बैंक लिमिटेडले पनि सेवा दिदै आएको छ । आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय समेत यहाँ रहेकाले वित्तिय पहुँचको दृष्टिले यो नगरपालिका जिल्लाकै अग्रणी स्थानमा पर्ने नगर प्रमुख रजत प्रताप शाहले बताए ।
बुद्धभूमि नगरपालिकामा पनि वाणिज्य बैंकले सेवा दिदै आएका छन । गोरुसिंगेमा एनएमबी बैंक लिमिटेड र इमिलियाबाट एनआइसी एसिया बैंकले सेवा दिदै आएका छन । नगरपालिकामा एउटा सरकारी स्तरको बैंक स्थापनाको पहल भैरहेको नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठले बताए ।
पछिल्लो समय जिल्लामा लगानीमैत्री वातावरण बन्दै गएको छ उद्योगीहरु बताउँछन । उद्योगधन्दामा लगानी गर्न चाहने व्यवसायीको आकर्षण जिल्लामा बढीरहेको कारण बैंक तथा वित्तिय संस्था खुल्ने क्रम बढेको उद्योगीको भनाई छ । बैंकहरु स्थापना भए पछि उद्योगी व्यवसायलाई सजिलो भएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल बताउँछन ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ३ : ३६ बजे