२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

रियल बेटिसमाथि बार्सिलोनाको जित, मेस्सीले गरे ह्याट्रिक



एजेन्सी ।
स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सीको शानदार प्रदर्शनसहित बार्सिलोनाले ला लिगा फुटबलमा १० अंकको अग्रता लिएको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोनाले रियल बेटिसमाथि ४–१ को जित निकालेको छ ।

अवे मैदानमा भएको खेलमा मेस्सीले पहिलो हाफमा दुई गोल गरे । दोस्रो हाफमा उनले एक गोल थपे भने लुइस स्वारेजले एक गोल गरे । यस्तै रियल बेटिसले पनि दोस्रो हाफमा नै एक गोल फर्काएको हो ।

१८ औँ मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

६३ औँ मिनेटमा स्वारेजले गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । ८२ औँ मिनेटमा रियल बेटिसका लागि मोरोनले एक गोल फर्काए ।

८५ औँ मिनेटमा मेस्सीले गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले ला लिगामा गरेको यो ३३ औँ ह्याट्रिक हो । बार्सिलोना ४–१ ले विजयी भयो । जितपछि शीर्षस्थानको बार्सिलोनाको २८ खेलबाट ६६ अंक भएको छ र उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १० अंकले अघि रहेको छ ।

आइतबार राति भएका अरु खेलमा सेभिल्लाले स्पानियोललाई १–०, रियल भालाडोलिडले एइबरलाई २–१ तथा भिल्लाारियलले रायो भालेकानोलाई ३–१ ले हरायो । यस्तै भ्यालेन्सिया र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ३ : ४६ बजे