५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मैत्रीपूर्ण खेलमा जर्मनी बराबरीमा रोकियो, वेल्स विजयी



एजेन्सी ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत गएराति भएको खेलमा जर्मनी सर्बियासँग बराबरीमा रोकिएको छ । पहिलो हाफमा १–० ले पछि परेको जर्मनीले दोस्रो हाफमा गोल फर्काउँदै हारबाट जोगिएको हो ।
१२ औँ मिनेटमा लुका जोविकले गोल गर्दै सर्बियालाई सुरुवाति अग्रता दिलाए । जर्मनीका लागि लियोन गोरेट्ज्काले ६९ औँ मिनेटमा बराबरी गोल फर्काए ।
यो खेलमा जर्मनीका लिरोय साने गम्भीर चोटबाट जोगिए । सर्बियाका खेलाडीले गम्भीर फउल गरे पनि सानेलाई चिन्ताजनक चोट नलागेको प्रशिक्षक योआखिम लोले बताएका छन् । सानेलाई खेलको ९३ औँ मिनेटमा मिलन पाभकोभले फउल गरेका हुन् । उनले सीधै रातो कार्ड पाए ।
यस्तै बुधबार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा वेल्सले ट्रिनिडाड एण्ड टोबाकोलाई पराजित गरेको छ । इन्जुरी समयको दोस्रो मिनेटमा बेन वुडबर्नले गरेको गोलको सहयोगमा वेल्सले जित निकालेको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७५ बिहिबार ००:००  ४ : ११ बजे