८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

रोनाल्डोको रवाफ, युरोकप छनोटमा ४ गोल



एजेन्सी।
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा विश्व कीर्तिमान बनाउने यात्रामा बलियो रुपमा अघि बढेका छन् ।युरोकप फुटबल २०२० को छनौट चरण अन्तर्गत मंगलबार राति भएको खेलमा रोनाल्डोले चार गोल गरे । उनकै चार गोलको सहयोगमा पोर्चुगलले लिथुवानियालाई ५–१ ले पराजित गरेको छ ।समूह बी अन्तर्गतको खेलमा अवे मैदानमा पोर्चुगलका लागि अर्को एक गोल विलियम कारवाल्होले गरेका हुन् । घरेलु टोली लिथुवानियाका लागि विताउतास एण्ड्रियुस्केविसियसले एक गोल फर्काए । सातौँ मिनेटमा पोर्चुगलले पेनाल्टी पायो, त्यसलाई सदुपयोग गर्दै रोनाल्डोले टिमका लागि व्यक्तिगत पहिलो गोल गरे । २८ औँ मिनेटमा विताउतासले लिथुवानियाका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रो हाफमा पोर्चुगलले थप चार गोल गरेको हो ।

रोनाल्डोले ६१ र ६५ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । उनले ७६ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरेपछि पोर्चुगलले ४–१ को अग्रता लियो ।इन्जुरी समयको दोस्रो मिनेटमा विलियमले गोल गरेपछि पोर्चुगल ५–१ ले विजयी भयो । यो जितको अर्थ साबिक विजेता पोर्चुगल प्ले–अफ बिना नै छनौट हुने सम्भावनामा छ ।

समूह बी को शीर्ष स्थानमा रहेको युक्रेनको १३ तथा दोस्रो स्थानमा पोर्चुगलको ८ अंक छ । मंगलबार राति नै भएको खेलमा लग्जेम्बर्गलाई ३–१ ले पराजित गरेको सर्बियाको सात अंक भएको छ ।

पोर्चुगलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका रोनाल्डोले राष्ट्रिय टिमबाट गरेको गोलको संख्या ९३ पुगेको छ । उनी पोर्चुगलका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् ।

तर उनी विश्वमा राष्ट्रिय टिमबाट अधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो नम्बरमा छन् । इरानका अली दाईले १०९ गोल गरेका छन् । यसको अर्थ अलीको कीर्तिमानमा बराबरी गर्न अब रोनाल्डोले १६ गोल गरे पुग्छ । रोनाल्डोले राष्ट्रिय टिमबाट आठौँ पटक ह्याट्रिक गरेका हुन् । यस्तै उनले सन् २०१६ मा एण्डोरासँगको खेलमा पनि चार गोल गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७६ बुधबार ००:००  ८ : १७ बजे