८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ,



क्यारेवियन प्रिमियर लिग क्रिकेटमा नेपाली बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । बारबाडोस ट्रिडेन्ट्सबाट खेलिरहेका सन्दीपले ४ ओभर बलिङ गर्दा गत सिजनको पूर्व टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सका तीन जना ब्याट्सम्यानलाई आउट गरेका हुन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको सन्दीपको टिम बारबाडोसले २० ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।
उसका लागि लेनिको बाउचरले अविजित ६२ रनको योगदान दिए भने जनसन चार्ल्सले ५२ रन जोडे । यस्तै जेपी डुमिनीले ४३ रन बनाए ।
१८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स एण्ड नेभस प्याट्रियोट्सको इनिङ्स १५ ओभरमा जारी रहँदा मैदानमा वर्षा भएपछि केहीबेर खेल पनि रोकिएको थियो ।
नेपालका सन्दीपले ५ औं ओभरमा पहिलो बलिङ गरेका थिए । पहिलो ओभरमा उनले ७ रन खर्चिएका थिए । दोस्रो ओभर ११ ओभरमा गरेका थिए । जसमा सन्दीपले सुरुवाती चार बल डट फाले । पाँचौं बलमा शमर ब्रुक्सले छक्का हाने । अन्तिम बलमा एक रन दिए ।
त्यसपछि १३औं ओभरको पहिलो र अन्तिम बलमा विकेट लिएका थिए । पहिलो बलमा ब्रुक्सलाई सन्दीपले क्याचआउट गराउँदै व्यक्तिगत पहिलो सफलता हात पारे ।दोस्रो बलमा लाउरी इभान्सले दुई रन लिए ।
तेस्रो र चौथो बलमा कुनै रन भएन । पाँचौं बलमा इभान्सले चौका प्रहार गरे । इभान्स सेन्ट बारबाडोसका लागि खतरा बनिरहेका थिए । उनले १० चौका र एक छक्का प्रहार गर्दै ६४ रन जोडिसकेका थिए । तर, सो ओभरको अन्तिम बलमा इभान्सलाई सन्दीपले क्याचआउट गराएपछि बारबाडोसले छैटौं सफलता पायो भने सन्दीपले व्यक्तिगत दोस्रो सफलता हात पारे ।
त्यसपछि १५ औं ओभरमा सन्दीपले कार्लोस ब्राथह्वाइटको विकेट लिए । १५ औं ओभरमा तेस्रो बलमा ब्राथह्वाइटलाई सन्दीपले एलबीडब्लूको धरापमा पारेका हुन् । यसैबीच सन्दीपको टिम १० रनले विजयी भएको छ भने उनी म्यान अफ द म्याच समेत भएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६ बिहिबार ००:००  ९ : २९ बजे