८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

भारतमाथि डी कक चम्किदा दक्षिण अफ्रिकाको जित



एजेन्सी ।
कप्तान क्विन्टन डी ककको उत्कृष्ट अविजित अर्ध शतकसँगै तेस्रो तथा अन्तिम टि २० खेलमा दक्षिण अफ्रिकाले भारतमाथि सानदार जित निकालेको छ । पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ९ विकेटले पराजित गर्दै तीन टि २० सिरिज १-१ को बराबरीमा सकाएको छ ।
१ सय ३५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६.५ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । दक्षिण अफ्रिकाको सहज जितमा कप्तान तथा ओपनर क्विन्टन डी ककले ५२ बलमा ६ चौका र ५ छक्का सहित ७९ रनमा अविजित रहे । योसँगै डी ककले आफ्नो दोस्रो टि२० कप्तानीमा दक्षिण अफ्रिकालाई पहिलो जित दिलाउन सफल भएका छन् ।
अर्का ओपनर रिजा हेन्ड्रिक्सले २६ बलमा ४ चौका सहित २८ रनमा क्याच आउट भए । तेम्बा बभुमा २३ बलमा २ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । भारतका लागि एक मात्र विकेट हार्दिक पान्ड्याले लिए । अन्य सबै बलर दक्षिण अफ्रिका ब्याट्सम्यान सामुनिरिह रहे ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । भारतका लागि ओपनर शिखर धवनले २५ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए । ऋषभ पन्त र रविन्द्र जडेजाले समान १९ तथा हार्दिक पान्ड्याले १४ रन जोड्दा अन्यको प्रर्दशन सम्झन योग्य रहेन ।
भारतका ७ ब्याट्सम्यान दोहोरो अंकमा रन छुन नपाई पेभिलिएन फर्केका थिए । ओपनर रोहित शर्मा र कप्तान विराट कोहली समान ९ रनमा क्याच आउट भए । दक्षिण अफ्रिकाका लागि युवा तीब्र गतिका बलर कागिसो रबाडाले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । बेयूरन हेन्डिक्स र बीज्रोन फोर्टुइनले समान २ विकेट लिए । तरबेज शम्सीको नाममा १ विकेट रह्यो । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६ आइतबार ००:००  १० : ५१ बजे