७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

लिभरपुलको विजयी यात्रा कायम, चेल्सी पराजित



एजेन्सी ।
युरोपियन च्याम्पियन तथा इंग्लिस प्रिमियर लिगको साबिक उपविजेता लिभरपुलले यो सिजन लिगामा आफ्नो प्रभावशाली यात्रा कायम राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीलाई पराजित गर्दै लिभरपुलले विजयी यात्रा कायम राखेको हो ।
अवे मैदानमा भएको खेलमा लिभरपुलले चेल्सीलाई २–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल खाएको घरेलु टोली चेल्सीले दोस्रो हाफमा एक गोल फर्काए पनि हार टार्न सकेन ।
लिभरपुलका लागि १४ औँ मिनेटमा ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड तथा ३० औँ मिनेटमा रोबर्टो फिरमिनोले गोल गरे । चेल्सीका लागि ७१ औँ मिनेटमा एन’गोलो कान्टेले एक गोल फर्काए ।
जितपछि शीर्ष स्थानको लिभरपुलको ६ खेलबाट १८ अंक भएको छ । यस्तै ६ खेलबाट मात्रै ८ अंक बनाएको चेल्सी ११ औँ स्थानमा झरेको छ । लिभरपुलले गएको सिजनका पछिल्ला ९ तथा यो सिजनका सुरुका ६ गरी कुल १५ खेलमा लगातार जित निकालेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६ सोमबार ००:००  ७ : ३९ बजे