६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

न्यू बुद्ध बनकट्टी मुहान कपको सेमिफाइनलमा, मुहान जुनियर पनि विजयी



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा ३ राजापानी खेल मैदानमा जारी मुहान कप जिल्लास्तरीय फुटवलमा शनिबार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा विजयी हुँदै आयोजक मुहान जुनियर अघिल्लो चरणमा प्रवेश गरेको छ भने दोश्रो खेलमा विजयी हुँदै न्यू बुद्ध स्पोर्टस् क्लव बनकट्टी सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारको दोश्रो प्रतिस्पर्धात्मक क्वाटर फाइनल खेलमा बलियो प्रतिद्वन्दी लभ नेपाल पिपरालाई ४–१ गोलले स्तब्ध पार्दै न्यू बुद्ध सेमिफाइनलमा प्रवेश गरेको हो । न्यू बुद्धको लागि जर्सी नम्बर ११ का गोविन पालुङले ४ गोल गरे । पहिलो हाफमा नै ३ गोल गरेर ह्याट्रिक पुरा गरेका उनले दोश्रो हाफमा थप १ गोल गरी ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए । उनलाई कपिलवस्तु काष्ठ ब्यवसायी संघका उपाध्यक्ष रनेन्द्र सेनले ट्रफी प्रदान गर्नुभएको थियो ।

यता लभ नेपालले भने गोल गर्ने थुप्रै अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा क्वाटरफाइनलबाट घर फर्कन बाध्य भयो । उसको लागि एक मात्र सान्तवना गोल दोश्रो हाफको अन्त्यतिर जर्सी नम्बर ७ का अर्जुन विकले गरेका थिए । तर त्यो जितको लागि पर्याप्त भएन । दुवै टिमले गरेका केही प्रहार भने गोल पोष्टको बारेमा लागेर विफल भएका थिए । बनकट्टीको बलियो रक्षापंतीले लभ नेपालका कैयौँ प्रहारहरु विफल पारेको थियो ।
शनिबारकै पहिलो खेलमा आयोजक मुहान एफसी (जुनियर) विजयी भएको छ । पहिलो चरणको अन्तिम खेलमा मुहानले विवाईसी बोर्डगाउँलाई १–० गोलको झिनो अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ हो । मुहानको जितमा जर्सी नम्बर ९ का समिर उच्चैले निर्णायक गोल गरे । समिरले गोल गरे पनि मुहानको रक्षापंती सम्हालेका मुहानका जर्सी नम्बर ४ का ओमकार मल्ल खेलमा ‘म्यान अफ दि मयाच’ घोषित भए । उनलाई बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरीले ट्रफी प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा आइतबार दोश्रो क्वाटर फाइनलको खेल हुने छ । राजापानी खेल मैदानमा दिउसो ३ बजे हुने खेलमा भोली एक खेल हुँदै छ । भोलीको दोश्रो क्वाटर फाइनलमा भलवाड एफसी भलवाड र सनराइज एफसी मोतिपुरका बीच खेल हुने छ । बर्षाका बाबजुत पनि खेल मैदानमा दर्शकको उपस्थिति घटेको छैन । आज शनिबार भएकाले चारैतर्फ दर्शकको बाक्लो उपस्थिति रहेको थियो । यही असोज १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ६० हजार शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले ३५ हजार,शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । विधागत तर्फ पनि खेलाडीले पुरस्कार पाउने छन् । प्रतियोगिातामा आयोजक २ टिमसहित कपिलवस्तुका १४ टिमले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६ शनिबार ००:००  ७ : ४० बजे