३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

एक लाख बढीको अखाद्य वस्तु नष्ट



बैतडी ।
चाडपर्वका बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण लागी बैतडीमा बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ। जिल्लाका विभिन्न बजारमा गरिएको अनगमनका क्रममा १ लाख बढीको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। सदरमुकास्थित गोठलापानी, देहिमाडौं, पाटन, खोडपेलगायतका बजारमा गरिएको बजार अनुगमनका क्रममा १ लाख १० हजार बराबरको अखाद्य वस्तु नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए। म्याद नाघेका सामग्री बिक्री वितरणमा कमी ल्याउन स्वयं उपभोक्ता पनि जागरुक हुनुपर्ने लेखकले बताए। अखाद्य वस्तु तथा म्याद नाघेका वस्तुको बिक्री वितरण रोक्ने, खाद्य अधिकारका बारेमा व्यापारी तथा उपभोक्तालाई जागरुक बनाउनका लागि बजार अनुगमन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा मिठाइ , चाउचाउ, चिउरा, बिस्कुट, तेल, पिठो लगायतका म्याद नाघेका सामग्री बरामद गरि नष्ट गरिएको हो। अनुगमनका क्रममा कतिपय पसलेले अझै पनि पसल दर्ता नगरेको, उपभोक्ता तथा व्यवसायीले खाद्य वस्तुको उत्पादन मितिका बारेमा चासो नदिने गरेको लगायतका समस्या देखिएका छन्। अनुगमन गर्दा धेरै जसोमा मूल्य(सूची पनि नराखेको पाइएकाले मूल्य(सूची राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। अनुगमनलाई अझै नियमित गर्न स्थानीयबासीले माग गरेका छन्। चाडपर्वका बेला मात्रै नभएर अन्य समयमा पनि बजार अनुगमन गर्नुपर्ने देहिमाडौंका तिलक बोहराको भनाइ छ। बजारमा किन्ने सामग्री विषयमा उत्पादन मिति र उपभोग्य मितिका विषयमा सचेत रहन अनुगमन टोलीले आग्रह गरेको छ।

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  १२ : ५७ बजे