३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

इराकमा सरकार विरुद्ध प्रदर्शनः ज्यान गुमाउनेको संख्या ६० नाघ्यो



एजेन्सी ।
इराकको राजधानी बग्दाद लगायतका ठूला सहरमा चार दिनयता तीव्र रूपमा सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। बुधबारबाट सुरु भएको विरोध प्रदर्शनमा ६० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। मृतकमा प्रदशर्नकारी र सुरक्षाकर्मी पनि रहेका छन्। प्रदर्शनमा गोली चल्दा करिब दुई हजारभन्दा बढी घाइते रहेको जसमा २०० भन्दा बढी गम्भीर घाइते भएको बताइएको छ। शुक्रबार मृतकको संख्या ३१ थियो भने त्यो बढेर शनिबार ६० नाघेको हो। मृतकमा २ जना प्रहरी पनि रहेका छन्। बेरोजगारी, बढ्दो भ्रष्टाचार र सार्वजनिक सेवामा कमीको विषयलाई लिएर प्रदर्शन भइरहेको हो। प्रदर्शनमा युवाहरूको संख्या उल्लेख्य रहेको बताइएको छ। उनीहरूले प्रधानमन्त्रीले झुटो प्रतिबद्धता गरेका प्रदर्शन गर्नुपरेको हो। पछिल्लो समय मात्रै प्रदर्शनकारीको तर्फबाट अज्ञात बन्दुकधारीले गोली प्रहार गरेको र दुई प्रहरीको मृत्यु भएको बताइएको छ। प्रधानमन्त्री अदेल अब्देल महदीले भने आफ्नो प्रशासनले सही काम गरिरहेको बताएका छन्। उनले गरिब परिवारको हेरचाह गरिरहेको र जादू को छडी आफूसँग नभएकाले सबै समस्याको हल तत्कालै नहुने बताए। उनले शान्ति कायम गरिराख्न पनि आग्रह गरेका छन्। प्रधानमन्त्रीको आग्रहले प्रदर्शनकारीमा कुनै प्रभाव परेको छैन। प्रदर्शनकारी दिनदिनै हिंस्रक प्रदर्शन गर्दै आएका छन्। बग्दाद लगायत अन्य सहरमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। इन्टरनेट सेवा कटौती गरिएको छ।

प्रकाशित मिति : १८ आश्विन २०७६ शनिबार ००:००  १२ : ५५ बजे