२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

यी नेताले अतिथि देवो भवः भन्दै चिनियाँ राष्ट्रपतिलाई स्वागत गरे



काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ भोलि शनिबार नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमणलाई सबैजसो राजनीतिक दलले स्वागत गरेका छन् । प्रधानमन्त्री केपी ओलीले हिजो बोलाएको छलफलमा उपस्थित सत्तारुढ र प्रतिपक्ष दलका नेताहरुले पनि भ्रमण सफल बनाउनुपर्ने मत राखेका थिए ।

त्यस्तै सामाजिक सञ्जालमा पनि नेताहरुले सीको भ्रमण सफलताको कामना गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबार ट्विट गर्दै चिनियाँ राष्ट्रपतिलाई हार्दिक स्वागत छ लेखेका छन् । “अतिथि देवो भवः हामी नेपालीको संस्कार हो ।

२३ वर्षपछि हुन लागेको उत्तरी छिमेकी चीनका महामहिम राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा कुनै अनादर झल्कने अभिव्यक्ति नदिऊँ । कसैले सामाजिक मिडियामा दिइहाले त्यसलाई शेयर नगरौं । सरकारसँगको असहमति हाम्रो आन्तरिक मामिला हो ।”

त्यस्तै, पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष कमल थापाले पनि केही बेरअघि सीलाई स्वागत छ भन्दै ट्विट गरेका छन् । “छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति महामहिम सि जिनपिङको भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउन सकोस् । परस्पर सम्मान, समानता र हितका पक्षमा यो भ्रमण कोसेढुंगा बन्न सकोस् । चिनियाँ राष्ट्रपतिलाई हार्दिक स्वागत,” थापाले ट्विट गरेका छन् ।

त्यस्तै, अर्का पूर्व पराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतले पनि ट्विट गर्दै सी भ्रमणको ऐतिहासिक सफलताको कामना गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  ३ : ०० बजे