३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

आङ सान सूची नेपाल आउने



काठमाण्डौ ।
सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचीले ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उहाँको भ्रमणको तयारी सुरु गरेको हो ।
सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि नेपाल आउने चाहना राष्ट्रपतिसमक्ष व्यक्त गरेकाले सरकारले त्यस भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको जानकारी दिनुभयो ।
‘म्यानमारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रमोसन गर्न नेपाल आउने चाहना व्यक्त गर्नुभएको छ’, सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘हामीले भ्रमणका लागि प्रबन्ध मिलाउनेछौँ ।’ मन्त्री ज्ञवालीले उहाँको भ्रमणको मिति भने खुलाउनुभएन ।
मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले नेपालले कसैको दबाबमा परेर कुनै पनि सन्धिरसम्झौता नगर्ने पनि पटक–पटक दोहोर्‍याउनुभयो ।
राष्ट्रको हितमा उपयुक्त हुने विषयमा मात्रै अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्ने पनि मन्त्री ज्ञवालीको स्पष्टीकरण थियो । मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको पनि बताउनुभयो ।
राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई देशबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदानसम्बन्धी महत्वपूर्ण सम्झौंता भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  ४ : ३३ बजे