२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर तयार



चितवन ।
चितवनको भरतपुर महानगरपालिकामा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन डिपिआर तयार भएको छ। धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुरमा एक कार्यक्रमका बीच अहिलेसम्म तयार पारिएको डिपिआरको खाका प्रस्तुत गरेको हो। तयार पारिएको खाकाबारे छलफल गर्न आयोजित अन्तरक्रिया कार्याक्रममा फाउण्डेसनले डिपिआर प्रस्तुत गरेको थियो। डिपिआर क्रियटिभ डिजाइन आर्किटेक्टस प्रालिले तयार पारेको हो। रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसुले अहिले तयार पारिएको डिपिआर आवश्यक परे संशोधन हुनसक्ने बताएका छन्। डिपिआर विभिन्न स्थानमा प्रस्तुत गर्ने कार्यक्रम रहेकाले पछि केही सल्लाह सुझाव आए संशोधन हुनसक्ने उनले बताए। रंगशाला यसअघि भनिएजस्तै कमलको फूल आकारमा गौतम बुद्धसहित नेपालीपन झल्कने किसिमको हुनेछ। रंगशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ। भित्री भागमा परम्परागत विभिन्न कलात्मकशैली झल्कने गरी डिपिआर तयार पारीएको छ। ‘फाउण्डेसनका तर्फबाट डिपिआर फाइनल नै भएको हो, स्थान, नक्सा र मुख्य विषय यही हुन्छ। तर, गुणस्तर, सामग्री प्रयोगलगायतका केही विषय आवश्यक परे संशोधन गछौँ’ अध्यक्ष कट्टेलले भने। उक्त कार्यक्रममा रंगशालाको डिपिआर तस्वीर र भिडियो पनि सार्वजनिक गरिएको थियो। अध्यक्ष कट्टेलले अहिलेसम्म अपेक्षित रूपमा सहयोग संकलन हुन नसकेको बताए। रंगशालाका लागि घोषित ७ करोडमध्ये १ करोड जति मात्रै संकलन भएको फाउण्डेसनका उनले बताए। परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउनसकेमा रंगशाला तयार गर्न २ अर्ब ६० करोड हाराहारी खर्च हुने जनाइएको छ। उनले भने यदि कर छुट हुन नसके यसअघि भनिएकै ३ अर्ब लागत लाग्नेछ। भरतपुर महानगरपालिका वडा न १५ रामपुरमा २२ बिघा १६ कट्ठा क्षेत्रफलमा रंगशाला निर्माण गरिने यसअघि नै तय भएको थियो। रंगशाला ३० हजार दर्शक क्षमताको बन्ने डिपिआरमा उल्लेख छ। बाटो निकासीका विषयमा रंगशाला क्षेत्रका केही असन्तुष्ट स्थानीयले तारबार भत्काएपछि केही समय निर्माणकार्य अवरोध भएको थियो। अब तिहारपछि तीव्र गतिमा काम हुने कट्टेलले बताए। उनले नेपाल र नेपालीको गर्व गर्ने रंगशाला निर्माणमा सबै नेपाली एक भए अफ्ठ्यारो नभएको बताउँदै सकेको सहयोग गर्न आग्रह पनि गरे।

प्रकाशित मिति : ७ कार्तिक २०७६ बिहिबार ००:००  ३ : ३५ बजे