२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

२३ लाख बढी अवैध नेपाली नोटसहित पाँच जना पक्राउ



पर्सा ।
भारतबाट नेपालतर्फ २३ लाख ५० हजार अवैध नेपाली नोट लिएर आउँदै गरेको समयमा फेरि पर्सामा २ भारतीयसहित ३ नेपाली पक्राउ परेका छन्। पाँच लाख अवैध नेपाली नोटसहित एक भारतीय पक्राउ परेको तीन दिन बित्न नपाउँदै फेरि पर्सामा यत्रो अवैध नेपाली नोट सहित ५ अभियुक्त पक्राउ परेका हुन्। उनीहरु मध्ये २ भारतीय र ३ नेपाली रहेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमध्ये भारतको पूर्वी चम्पारण थाना सुगौली वडा नम्बर ८ का ४६ बर्षीय गोपाल प्रसाद अग्रवाल र भारत रामगढवा थाना ग्राम रामगढवा बस्ने ६० बर्षीय सकिर मिया रहेका छन्। त्यसैगरी नेपालतर्फका बाराको खटुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ अहिर्वाटोलका ३२ वर्षीय वीरेन्द्र साह, बारा गढिमाई गाउँपालिका वडा नम्बर २ दौरुवाटोलका २६ बर्षीय सनि जैसवाल र वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का २५ वर्षीय मन्टु कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र शाहीले बताए। पक्राउ परेका अभियुक्तमध्ये भारतका अग्रवालको साथबाट ९ लाख, मियाको साथबाट ५ लाख बरामद भएको छ। त्यसैगरी बाराका वीरेन्द्र साहको साथबाट २ लाख ५० हजार, जैसवालको साथबाट पनि २ लाख ५० हजार र वीरगन्जका मन्टु कुमार साहको साथबाट ४ लाख ५० हजार स्रोत नखुलेको नेपाली नोट फेला परेको उनको भनाइ छ। अभियुक्त मध्ये अग्रवाल र मन्टुलाई वीरगन्जको सीमा नाका शंकराचार्य गेट अगाडी र वीरेन्द्र, सनी र मियालाई वीरगन्जको रजतजयन्ती चोकबाट अवैध नोट सहित पक्राउ गरिएको उनले बताए। स्रोत नखुलेको रकमसहित पक्राउ परेका अभियुक्तहरु हुण्डी कारोवारी भएको हुन सक्ने प्रहरी अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ। सीमा नाकामा उताबाट यतातर्फ आउँदै गरेको अवस्थामा उनीहरु पक्राउ पर्नुले भारतबाट नै अवैध नोट नेपालतर्फ ल्याउँदै गरेको हुन सक्ने प्रहरीको अनुमान छ। सबै अभियुक्तलाई थप अनुसन्धान गरी आवश्यक कार्वाही प्रकृया अगाडी बढाइने पर्साका प्रहरी नायव उपरिक्षक शाहीले बताए। ३ दिन पहिले पनि ५ लाख ८३ हजार ५६० रुपैयाँ अवैध नेपाली नोट सहित भारतका कृष्णमोहन कलवारलाई पनि पर्सा प्रहरीले पक्राउ गरेको थियो।  -थाहा खबरबाट

प्रकाशित मिति : ८ कार्तिक २०७६ शुक्रबार ००:००  १ : ४४ बजे