७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

एट्लान्टाको प्रभावशाली जित



एजेन्सी ।
इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गरेर एट्लान्टाले जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको लाजिओसँग सुरुको ११ मिनेटमै दुई गोलले पछि परेको एट्लान्टाले अन्ततः खेलमा ३–२ को जित दर्ता गरेको हो ।

एट्लान्टाका मार्तेन डी रुनले पाँचौँ मिनेटमा आत्मघाती गोल गरी लाजिओलाई सुरुवाति अग्रता दिलाए । ११ औँ मिनेटमा सर्गेइ मिलिन्कोविक–साविकले गोल गरी लाजिओको अग्रता दोब्बर पारे ।

त्यसपछि भने एट्लान्टा खेलमा फर्कियो । उसका लागि ३८ औँ मिनेटमा गोसेन्स, ६६ औँ मिनेटमा मालिनोभ्स्की र ८० औँ मिनेटमा पालोमिनोले गोल गरेका हुन् ।

एट्लान्टाको जितले उपाधि होडमा रहेको लाजिओलाई गम्भीर धक्का लागेको छ भने शीर्ष स्थानको युभेन्टसलाई ठूलो राहत मिलेको छ । लाजिओको २१ खेलको अपराजित यात्रा टुंगियो ।

पराजित भएको दोस्रो स्थानको लाजिओको २७ खेलबाट ६२ अंक छ । शीर्ष स्थानको युभेन्टसको समान खेलबाट ६६ अंक छ । चौथो स्थानको एट्लान्टाको ५४ अंक रहेको छ ।

लिग अन्तर्गत बुधबार राति नै भएका अरु खेलमा रोमाले साम्पडोरियालाई २–१ ले पराजित गर्दा इन्टर मिलान र सासुओलोले ३–३ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ११ असार २०७७ बिहिबार ००:००  ८ : १७ बजे