२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

निजामती सेवा दिवसः बुद्धभूमिमा भयो प्रशंसनीय काम



मायादेवी अनलाइन, चार नम्बर ।
निजामती सेवा दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा प्रशंसनीय काम भएको छ ।

दिवसको अवसरमा बुद्धभूमि कर्मचारी मिलन केन्द्रको संयोजन र नगरपालिका तथा मिलन केन्द्रको संयुक्त आर्थिक सहयोगमा अस्पतालमा उपचाररत खेमराज शर्मालाई आर्थिक सहयोग वापत सबै कर्मचारीले एक दिनको तलव दिने भएका छन् ।

नगरका स्रोत व्यक्ति रहनुभएका शर्मा मोटरसाइकल दुर्घटनामा घाइते भएर अस्पतालमा उपचाररत हुनुहुन्छ । लाखौं रकम खर्चेर उहाँको उपचार भैरहेको बेला नगरभित्रका ज्यालादारी कर्मचारीबाहेकले एक दिनको तलव दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।

यस्तै दिवसको अवसरमा हिसां पिडीत महिलाको आश्रय केन्द्र तौलिहवालाई दुई थान ग्यास, चुल्हो तथा दुई थान स्टाण्ड फेनको वस्तुगत सहयता हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

यसैगरी दिवसको अवसरमा नगरपालिका परिसर सरसफाई, आईसोलेसनमा रहेकी एकजना सुत्केरी महिलालाई पोषण सहायता प्रदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठ, उप प्रमुख मिरा थारु, नगर प्रवक्ता पवनकुमार थारु, वडाध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

दिवसको अवसरमा बुद्धभूमिमा कार्यरत कर्मचारीले गरेको काम प्रशंसनीय भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । नगरका कर्मचारी खेमराज शर्माको उपचारमा एक दिनको तलव दिने देखि गरि दिनदुखीलाई विभिन्न सहयोग गर्नु राम्रो काम भएको उहाँले बताउनुभयो ।

बुद्धभूमिमा जिल्लाकै पहिलो पटक स्थानीय तह विशेष कर्मचारी मिलन केन्द्र गठन भएको छ । संघीयता लागू नहुनु पूर्व जिल्लास्तरीय केन्द्र रहेपनि संघीयता पश्चात ओझेलमा थियो । तर, बुद्धभूमिले पहिलो पटक नरग स्तरीय कर्मचारी मिलन केन्द्र गठन गरेको हो । केन्द्र गठनमा नगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलको महत्वपूर्ण योगदान रहेको कर्मचारीहरु बताउँछन् । नगरभित्र विभिन्न क्षेत्रका गरी एक सय बढी सरकारी कर्मचारी छन् ।

प्रकाशित मिति : २२ भदौ २०७७ सोमबार ००:००  ४ : १५ बजे