८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

किसानले उत्पादन गरेको कृषि उपज गाउँपालिकाले खरिद गरिदिने, स्थानीयमा छायो खुसी



बिष्णु कुमार आले, अर्घाखाँची ।

गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषियोग्य उपज खरिद गर्ने भएको छ । ग्रामीण भेगका किसानहरुले उत्पादन गरेपनि बजार नपाएका वस्तुहरुलाई खरिद गरी किसानहरुलाई हौसलासंगै व्यवसायिक कृषिमा युवालाई आवद्ध गर्न यसो गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिए ।

स्थानीयस्तरमा उत्पादित कृषि उपजहरु उपभोग नहुँदा सडेर जाने गरेको अवस्थामा ग्रामीण कृषि उद्यमशिलता बुटवल र धुर्कोट गाउँपालिकाबीच सम्झौता भएपछि गाउँपालिकाले कृषि उपजहरू खरिद गर्ने भएको हो । अहिले किसानले जतिपनि उत्पादन गरेको कृषि उपज ग्रामीण कृषि उद्यमशिलताले नै लैजाने गरेको गाउँपालिकाका उपाध्यक्ष शिव बहादुर खत्रीले बताए ।

गाउँपालिका भित्रका किसान, कृषि समूह, कृषि फर्महरुबाट उत्पादित कृषि उपजहरु धुर्कोट गाउँपालिकामा रहेको कृषि बिकास शाखाले तोकेको केन्द्रमा लगि संकलन गर्नु पर्ने छ ।

गाउँपालिकाले महिला समुहबाट बनाईएको तितौरा प्रति केजि ३८० रूपियाँ, सिन्की ४०० रूपियाँ, मुलाको चाना ६० रूपियाँ, बेसारको सुकाएको चाना २८५ रूपियाँ, कोदो ३७ रूपियाँ, सोस्ता बोडि १५०, ग्रेडिङ गरेको मकै ४० रूपियाँ, खैरो भट्ट ७०, सेतो भट्ट ७० र खैरो गहत ९० रूपियाँमा गाउँपालिकाले खरिद गर्ने मूल्य तय भएको गाउँपालिकाले जनाएको छ ।

उत्पादन भएपनि बिक्रीवितरण गर्न बजार नपाउँदा खेर गैरहेको कृषि उपजलाई गाउँपालिकाले खरिद गर्ने भएपछि स्थानीय किसान खुसी भएका छन् ।

प्रकाशित मिति : २६ भदौ २०७७ शुक्रबार ००:००  ७ : ४८ बजे