४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पाल्पा पहिरोः तिनाउका आठ घरमा क्षति



पाल्पा ।
शुक्रबार रातिको अविरल वर्षासँगै खसेको पहिरोले तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, घोडेबासलगायतका स्थानमा आठ घरमा पहिरोले क्षति पुगेको छ । पहिरोले दोभानको घोडेबासस्थित टिकाराम खरेल, यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुगेको छ ।

माथिल्लो भागबाट खसेको पहिरोले उनीहरुको घरमा क्षति पुर्‍याएको उनका आफन्त दोभानका विष्णुप्रसाद पाण्डेयले जानकारी दिए ।

तिनाउ गाउँपालिका–२, कै भीमबहादुर भुजेलको पनि माथिल्लो भागबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको छ । तिनाउ गाउँपालिका–३, सिद्धार्थ राजमार्ग क्षेत्रका अर्घाछापका लीलाबहादुर थापाको घर, च्याउघरलगायतमा पहिरोले क्षति पुगेको छ ।

राजमार्गको माथिल्लो भागमा पहिरो खस्दा रुखसहितले घरमा क्षति पुगेको प्रहरी चौकी दोभानका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले जानकारी दिए । उनका अनुसार तिनाउ गाउँपालिका–३, कै अमरसिंह प्रधान र राजबहादुर श्रेष्ठको घर पनि पहिरोको जोखिममा परेको छ ।

वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले रातभरको अविरल वर्षाले के कति क्षति भएको छ भन्ने अझै यकिन तथ्यांक आउन नसकेको बताए । उनले राजमार्ग छेउछाउमा मात्र अहिले जानकारीका आएको तर भित्री गाउँको अवस्था बुझ्ने क्रममै रहेको बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  १२ : २३ बजे