४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पहिरोका कारण सिद्धार्थ राजमार्ग तीन दिनदेखि ठप्प



पाल्पा ।

अविरल वर्षासँगै खसेको पहिरो पन्छाउन नसकिँदा शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार पनि खुल्न सकेको छैन । पाल्पा–बुटवल सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाका दर्जन बढी स्थानमा पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि सडक अवरुद्ध भएको हो ।

राजमार्गका चिडियाखोला, कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, अर्घाछाप, पानीमिललगायतका स्थानमा ठूला–ठूला पहिरो खसेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सोमबहादुर सारुमगरले जानकारी दिए ।

झुम्सादेखि बुटवलसम्मको क्षेत्रको पहिरो शनिबार बेलुकी अबेरसम्म हटाइए पनि सिसुवा, पानीमिललगायत स्थानको पहिरो पन्छाउन नसकिएको सडक डिभिजनले जनाएको छ ।

ठूलठूला ढुंगासँगै खसेको पहिरो पन्छाउन सडक डिभिजनसँगको समन्वयमा दुई तर्फबाट डोजर परिचालन गरिएको छ । दोभान प्रहरी चौकीका अनुसार आइतबार अपराह्न ३ बजेसम्म पहिरो पन्छाएर यातायात खोल्ने तयारी छ ।

पहिरोले पहाडी क्षेत्रमा आउने सवारीसाधन बुटवलतर्फ नै रोकिएका छन् भने पहाडबाट तराई झरेका सवारीसाधनलाई केराबारी, चर्चरे, जोरधारामा रोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  १ : १३ बजे