१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बर्दियामा पाटे बाघले महिला खायो



बर्दिया ।
बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न जानुभएकी मधुवन नगरपालिका ३ की महिलाको बाघको आक्रमणबाट ज्यान गएको हो ।

मधुवनको भगरैया घर भएकी गंगा खत्रीको पाटे बाघको आक्रमणबाट ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।

सम्झना सामुदायिक वन उपभोक्ता समूहको वनमा डालेघाँस काट्ने क्रममा बुधबार साँझ पाटे बाघले उहाँलाई आक्रमण गरेको थियो । पाटे बाघले आक्रमण गरी घिसार्दै लैजाने क्रममा सशस्त्र प्रहरीको बेस क्याम्प नजिक उहाँ मृत भेटिनु भएको हो ।

दुई हप्ताअघि पनि मधुवन नगरपालिकाकै माछा मार्न गएका एक किशोरको बाघको आक्रमणबाट ज्यान गएको थियो । साढे एक वर्ष अघिदेखि अहिलेसम्म बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला वन क्षेत्रमा पाटे बाघको आक्रमणबाट सात जनाको ज्यान गएको छ ।

पछिल्लो समय पाटे बाघले घाँस दाउरा लिन जङ्गल गएका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि स्थानीयको ज्यान लिने गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  १० : १४ बजे