१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ आउने



दाङ ।


लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते हुने भएको छ। राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए।

झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका हुन्। पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो । पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ ।

यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । यती मात्र होइन, पछिल्लो समय पुल पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ । दाङ जिल्ला भित्रबाट मात्रै नभएर बाहिरी जिल्लाबाट पर्यटकहरु यहाँ आउने गरेका छन् । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारी आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।

गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७७ सोमबार ००:००  २ : ०० बजे