१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

टिप्पर आतङक माथि लुम्बिनी प्रदेशको कडाई, लागु भयो टाइम कार्ड



बुटवल ।

टिप्पर आतङकमाथि लुम्बिनी प्रदेशले कडाई सुरु गरेको छ । पछिल्लो समय टिप्पर आतङक बढेकाले लुम्बिनी प्रदेश ट्राफिकले टाइम कार्ड लागु गरेको छ । बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुंगा बोकेर निर्वाध सडकमा गुड्ने टिपरका कारण दुर्घटनाको जोखिम बढेको छ ।

सडकमा सवारी साधनको अत्यन्त भिड रहने विद्यालय र कार्यालय समयमा बजार क्षेत्रमा समेत निर्वाध रुपमा टिपर चल्ने गरेका छन । टाईम कार्ड लागू भएपछि टिपर चालकहरु तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुग्न पाउने छैनन् ।

पहिलो चरणमा खानीस्थल पाल्पाको दोभानदेखि भैरहवा अञ्चलपुर र बुटवल धागोकारखाना सम्म र धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म टाईम कार्ड लागू गरिएको छ ।
यसरी तोकिएको समय अनुसार अब दोभानदेखि धागो कारखानासम्म ११ किलोमिटरको दुरीमा प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्रै टिपर चलाउन पाईनेछ। ट्राफिक प्रहरीले ११ किलोमिटरको यो दुरीमा ३३ मिनेट समय तोकेको छ ।

त्यस्तै धागो कारखानादेखि सुनवलसम्म २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ४६ मिनेट समय तोकिएको प्रहरी उपरीक्षक विकले जानकारी दिए । त्यस्तै सबैभन्दा व्यस्त रहने दोभान भैरहवासम्मको २६ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ५६ मिनेट समय तोकिएको छ । यसअघि टिपरलाई तोकिएको टाईमकार्डबाट दुर्घटना न्यूनिकरणमा प्रभावकारी भएकोले अब पनि टाईमकार्ड लागू गर्न लागिएको विकले जानकारी दिए।

यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्गमा चल्ने सवारी साधनका चालकलाई लेन अनुशासनमा रहेर सवारी चलाउन सिकाउन शुरू गरेको छ ।
लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले लेनको प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न आग्रह गरेको छ ।

बेलहिया बुटवल ६ लेन सडकखण्ड अन्तर्गत बुटवल कालिकानगरमा मोटरसाईकल चालकहरुलाई गति अनुसारको लेन अनुशासनमा रही सवारी सञ्चालन गर्न सिकाउन शुरु गरेको हो ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्बर बिकले साना सवारी मात्र होइन यात्रुवाहक र मालवाहक सवारी कसैले पनि लेन अनुशासन पालना नगर्दा दुर्घटनाको जोखिम बढेको बताए। उनले सडक बिस्तारसँगै गति अनुसारको लेन छुट्याएको भए पनि पालना नहुँदा दुर्घटनाको जोखिम बढेको बताए ।

६ लेन सडक विस्तारसँगै सवारीको चाप बढ्दै गएकोले बुटवल भैरहवा सडकखण्डमा लेनको प्रयोग अनिवार्य भएको उनको भनाई छ । पहिलो चरणमा एकहप्ता सम्म बुटवलदेखि भैरहवासम्मका विभिन्न स्थानमा चालकलाई लेनको प्रयोगबारे जानकारी दिने र कार्यान्वयनमा लैजाने छ ।
सडकमा लेन छुट्याएर रेखांकन गरिसके पनि त्यसको प्रयोग नभएकाले ट्राफिक प्रहरीले यसलाई अभियानको रुपमा अगाडि सारेको उनले बताए ।

प्रकाशित मिति : ५ माघ २०७७ सोमबार ००:००  ५ : २९ बजे