१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुका नयाँ सिडिओ भन्छन्- ‘स्वभाव च्यालेन्जिङ काम गर्ने छ, भनसुन चल्दैन’



चन्द्रकान्त न्यौपाने, चारनम्बर ।

उदयपुरबाट सरुवा भई यसै साता कपिलवस्तु जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे (सहसचिव) ले च्यालेन्जिङ काम गर्ने आफ्नो स्वभाव रहेको बताउनु भएको छ ।
करिब ३० बर्षे जागिरे जीवनको अनुभवबाट आफूले धेरै कुरा सिकेको भन्दै असल नेतृत्वको सक्कली परीक्षा सरल कामभन्दा चुनौतिपूर्ण कामबाट नै हुने उहाँले बताउनु भयो । जिल्ला प्रशासन कार्यलयमा हाजिर भएपछि कपिलवस्तु उद्योग बाणिज्य संघले सोमबार बाणगंगामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिँदै उहाँले सजिलो काम जुनसुकै प्रशासक र नेतृत्वले गर्न सक्ने बताउनु भयो ।

करिब ४० मिनेट सामाजिक सुशासन, सदाचार, सुधार र विकासमा खर्चनु भएका प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो, ‘मलाई च्यालेन्जिङ काम गर्न मन पर्दछ । कपिलवस्तु खुला सिमाना भएको तराईको जिल्ला हो । यहाँ विबिध समस्या छैनन् भन्न सक्दिन । चुनौति पनि छन् । तर ती चुनौतिसंग काम गर्न पाउँदा मलाई खुसी लागेको छ ।’

धेरै बर्ष अघि आफूले कपिलवस्तु आएर वन क्षेत्रमा काम गर्ने अवसर पाएको हुँदा धेरै नभए पनि अलिअलि यहाँका सामाजिक, आर्थिक, शान्ति सुरक्षाका विषयमा आफू जानकार रहेको बताउँदै जनताले महसुस गर्न पाउने गरी काम गर्ने पाण्डेले विश्वास दिलाउनु भयो । उहाँले कानुन कार्यान्वयनमा चुक्ने आफ्नो बानी नभएको बताउनु भयो ।

३ जिल्लामा सिडिओ भएर काम गरेको, राष्ट्रपति कार्यालय, गृहमन्त्रालय र अन्य बिभिन्न मन्त्रालयमा जिम्मेवार पदमा भई काम गरेको हुनाले पनि आफूले गर्ने काममा कहिँ तलमाथि हुन नदिने उहाँको दाबी छ । आफ्नो वुद्धि र विवेकले भ्याएसम्म जनतालाई दुख दिनेभन्दा पनि सहज तरिकाले सेवा दिने गरी व्यवस्था मिलाउन मातहतका कार्यालयलाई निर्देशन दिइसकेको पनि उहाँले जानकारी गराउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले बेथिति र गलत काममा कहिल्यै भनसुन नचल्ने पनि बताउनु भएको छ । कडा शब्दमा उहाँले भन्नुभयो ‘मसंग गलत र नहुने कामको भनसुन लिएर नआउनु होला । मसंग यस्तो चल्दैन । मेरो लामो जागिरे जीवनले यही भन्छ । जागिर जाओस् । सरुवा हुन परोस् तर गलत काम र त्यसमा संलग्नलाई जोगाउने काम हुँदै हुँदैन । जति दिन बस्छु । सकेसम्म राम्रो गर्छु । ’

अर्कोतर्फ उहाँले अनावश्यक काममा झमेला दिने काम प्रशासनबाट नहुने पनि बताउनु भएको छ । आफू आइसकेपछि गरेका केही कामका उदाहरण प्रस्तुत गर्दै उहाँले नागरिकता लगायतका विषयमा कर्मचारीले जानजान दुख दिने, अल्झाइदिने गरेको आफूलाई पनि थाहा भएको भन्दै सुधारको प्रयास गरिसकेको जानकारी दिनुभयो ।

उहाँले उद्योग संघ पनि सरकारकै एक अंग भएकाले सहकार्यका साथ काम गर्ने प्रतिवद्धता जनाउनु भयो । कपिलवस्तु उद्योगसंघको आतिथ्य र मायाले आफू खुसी भएको भन्दै उपभोक्ता अधिकारलाई ध्यानमा राखी काम गर्न सुझाउनु भयो । अपराध नियन्त्रण, लागु पदार्थ ओसारपसारको रोकथाम, शान्ति सुरक्षा कार्यमा जनताले साथ दिएमा जिल्लालाई थप सुधार गर्न सकिने उहाँको भनाई छ । विदाई हुने बेला पाण्डेले राम्रै गर्यो है भन्ने पारेरै छोड्ने उहाँको प्रतिवद्धता छ ।

संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता, सिडिओ पाण्डेको प्रमुख आतिथ्य र महासचिव मनोज पौडेलको संचालनमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष उमानाथ पौडेल, पूर्वअध्यक्ष विष्णु प्रसाद न्यौँपाने, देवी प्रसाद पाण्डे, यज्ञ भट्टराई, नागरिक समाजका अध्यक्ष डोलकराम पछाई लगायतले जिल्लाका समस्याका बारेमा अवगत गराउनु भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७ सोमबार ००:००  ४ : ०८ बजे