गुल्मी । भारी वर्षाका कारण गुल्मी जिल्लाका विभिन्न सडक खण्डहरुमा खसेको पहिरो हटाई यातायात सुचारु गर्ने कामलाई तीव्र पारिएको छ। यस जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक खण्डको गेदी खोलामा बिग्रिएको बाटो जेसीबीको प्रयोग गरी खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) भिमकिरण बोगटीले जानकारी दिनुभयो।
प्रहरी उपरीक्षक (एसपी) बोगटीका अनुसार कालीगण्डकी कोरिडोरको गुल्मीतर्फको सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरो, ठूला ढुङ्गा तथा भासिएको सडक पन्छाएर यातायात सञ्चालनमा ल्याउन एक्साभेटर प्रयोग गरी काम भइरहेको छ। रिडी–तम्घास सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरो तथा ढुङ्गा–माटो हटाएर सडक सुचारु गरिएको छ। रुरु क्षेत्र गाउँपालिका वडा नम्बर–३ स्थित खन्यारुखमा खसेको पहिरो पन्छाउन एक्साभेटरले काम गरिरहेको छ।
यहाँ वैकल्पिक रूपमा पानी ट्याङ्कीबाट थोर्गाको बाटो प्रयोग गर्न आग्रह गरिएको छ। तम्घास–रिडी खण्डमा अझै पनि ढुङ्गा–माटो खस्ने, पहिरो जाने जोखिम कायम रहेको र बिजुलीका पोल तथा तारहरू सडकमा लत्रेकाले यात्रा गर्दा उच्च सुरक्षा सावधानी अपनाउन सम्बन्धित सबैमा आग्रह गरिएको छ। यता, जिल्ला प्रशासन कार्यालयले मौसममा सुधार आएसँगै सवारी आवतजावतमा लगाइएको रोक हटाएको छ।
गत असोज १० गते भारी वर्षाका कारण उच्च जोखिम भएपछि सवारी आवागमनमा पूर्ण रोक लगाइएकोमा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो चेतावनी नक्साले सामान्य अवस्था देखाएपछि सोमबारदेखि सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्ध हटाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमल सेन ओलीले जानकारी दिनुभयो।








प्रतिक्रिया