रेसुङ्गा । चार दिनदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण जिल्लाका २३१ घरपरिवार उच्च जोखिमका कारण विस्थापित भएका छन् ।
कालीगण्डकी गाउँपालिकाका १५, सत्यवती गाउँपालिकाका ३०, रुरुक्षेत्र गाउँपालिकाका ४०, मुसीकोट नगरपालिकाका १२ र रेसुङ्गा नगरपालिकाका २५ घर उच्च जोखिममा परेका छन् ।
त्यसै गरी गुल्मीदरबार गाउँपालिकाका पाँच, चन्द्रकोटका ७०, धुर्कोटका १५, इस्माका १२ र छत्रकोटका सात घर पहिरोको जोखिममा परेका कारण सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो । जोखिममा रहेका तथा विस्थापित परिवारलाई स्थानीय पालिकाहरूको समन्वयमा आफन्तको घर, गाउँका खाली घर र सुरक्षित सार्वजनिक संरचनामा व्यवस्थापन गरिएको बोगटीले बताउनुभयो ।
वर्षाले अवरुद्ध बनेका मुख्य राजमार्ग कालीगण्डकी कोरिडोर, मदन भण्डारी राजमार्ग र रुद्रवेणी–वामी–टक्सार सडकसहित ग्रामीण अधिकांश सडक सञ्चालनको प्रयास जारी रहेको छ । सोमबार मौसम सफा भएकाले स्थानीय तह र कार्यालयहरूमार्फत समन्वय गरेर सडक खुलाउने काम भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । उहाँले ठुला सवारी हिँड्न अझै जोखिम भएकाले अवस्था हेरेर सञ्चालन गर्न आग्रह गर्नुभयो । रुद्रवेणी–वामी सडक खण्डको सत्यवती गाउँपालिका–६, जोहाङ उल्लीखोलामा बडिगाड खोलाले ८० मिटर मुख्य सडक बगाएका कारण सवारी आवगमन बन्द भएको छ । सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले सडक डिभिजन कार्यालय पाल्पासंग समन्वय गरेर विभिन्न विकल्पको खोजी भइरहेको बताउनुभयो ।
उहाँले स्थानीय सडकहरू बन्द, विद्युत् बन्दलगायत कृषि बालीमा समेत क्षति भएका तत्काल मुख्य सडक र दुधलाई खेर जान नदिन सङ्कलन केन्द्र भएका स्थानीय सडक सञ्चालन गर्न थालिएको बताउनुभयो । तम्घास–खज्र्याङ सडकको रेसुङ्गा नगरपालिका–१०, सिमीचौरमा ५० मिटर पक्की सडक पूरै भत्किएर आवगमन बन्द भएको छ । सहरी सडक आयोजना कार्यालयबाट अनुगमन भइसकेकाले तत्काल विकल्प निकाल्ने रेसुङ्गा नगरपालिका–१०, सिमीचौरका वडाध्यक्ष रामबहादुर बस्नेतले बताउनुभयो । नेपाल विद्युत् प्राधिकण वितरण केन्द्र गुल्मीको इन्जिनियर स्मृति ढुङ्गानाले धेरै पोल ढलेका, तीन वटा ट्रान्सफर्मर ढुवानीमा परेका कारण नियमित विद्युत् आपूर्तिमा समस्या भएको बताउनुभयो ।
उहाँले हाइटेन्सन लाइन सञ्चालन भइसकेकाले प्राथमिकताको आधारमा स्थानीय लाइन सञ्चालन गर्ने बताउनुभयो । अहिलेसम्म पूर्ण रूपमा केही गाउँमा विद्युत् पूर्ण रूपमा बन्द भएको ढुङ्गानाले बताउनुभयो ।










प्रतिक्रिया