८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बालविवाहविरुद्ध गाउँगाउँमा सडक नाटक



गुल्मी ।
मालिका गाउँपालिकाले उमेर नपुगी विवाह गर्नु हुँदै भन्ने जनचेतना जगाउन सडक नाटक देखाउँदै आएको छ। अझै पनि उमेर नपुगी विवाह गर्ने चलन रहेकाले त्यसविरुद्ध जनचेतना जगाउन सडक नाटक देखाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आठवटै वडामा सडक नाटकको माध्यमबाट सचेतना फैलाएको गाउँपालिकका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरीले बताए। २० वर्ष पूरा नगरी विवाह गर्दा महिला र पुरुषमा शारीरिक परिपक्वता पनि नआउने भएकाले सडक नाटकको माध्यमबाट त्यसबारे सचेतना फैलाएको गिरी बताउँछन् ।

सडक नाटकको माध्यमबाट सचेतना फैलाउँदा प्रभावकारी हुने भएकाले प्रत्येक वडामा अभियान नै सञ्चालन गरेको उनको भनाइ छ । नाटकमा उमेर नपुगी विवाह गर्दा हुने कानुनी प्रावधान र समस्याबारे जानकारी दिइएको छ ।

सडक नाटक प्रदर्शनका लागि दुई लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७७ सोमबार ००:००  ६ : ०१ बजे