१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बर्दियामा मान्छे खाने बाघ समातियो



बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले आइतबार नै अर्को पाटेबाघ नियन्त्रणमा लिएको छ । निकुञ्जभित्र आइतबार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैँडा मचान क्षेत्रबाट माहुतेलाई आक्रमण गरेलगत्तै पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका साहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए । नियन्त्रणमा लिएको बाघलाई आजै काठ्माण्डौको जावलाखेल चिडियाखानामा लगिएको उनले बताए ।

योसँगै बर्दियाबाट पाँचवटा पाटेबाघ नियन्त्रणमा लिइएको छ । यसअघि बर्दियाको खाता क्षेत्रबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाटेबाघ भने खोरको सरिया बङ्ग्याएर भागेको थियो ।

गैँडा गणना गर्न गएको टोली रहेको हात्तीका माहुते पुलिसराम चौधरीको आइतबार बेलुका निकुञ्ज भित्र गैँडा मचान क्षेत्रमा पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । यसअघि चैत ३ गते पनि यसै क्षेत्र आसपासमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । निकुञ्जको प्राविधिक टोलीले क्यामरा ट्रयापिङ गर्दा महिलालाई आक्रमण गर्ने र माहुतेलाई आक्रमण गर्ने पाटेबाघ एउटै भएको अनुमान लगाएको छ ।

अन्दाजी १० वर्षको भाले पाटेबाघलाई राति नै टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको हो। बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई पाटेबाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ। यस वर्ष मात्रै ११ जनाले पाटे बाघकै आक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७ सोमबार ००:००  ५ : ४२ बजे