लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय


रूपन्देही ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो ।

यता लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेबाहेकका तीन दलले हस्ताक्षर संकलन सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन गरेका हुन् ।

स्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरिसकेका छन् । जसपाका तीन जनाको हस्ताक्षर भएको र तीन जनाको बाँकी रहेको बताइएको छ ।

८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । मुख्यमन्त्री शंकर पोखरेललाइ सरकार जोगाउन ४४ मत आवश्यक पर्छ । एमालेकै दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहमा छन् ।

माओवादीका दुई जना प्रदेशसभा सदस्यले माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् । अर्को दल प्रवेश गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले पनि कारबाही गर्दै कारबाही गरेको जानकारी प्रदेशसभामा दर्ता गरिसकेको छ ।

एमाले प्रवेश गरेका दुई जना प्रदेशसभा सदस्यलाई कारबाहीको सिफारिस भएसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको खेल पनि सुरु भएको हो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस