१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सीसीएमसी बैठकः दोस्रो लहर बढ्यो, तीन साता विद्यालय तथा कलेजहरु बन्द गरौँ



काठमाडौं ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल भएको छ । तर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने–नलैजाने तय भइनसकेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन सभा सम्मेलन तथा कार्यक्रमहरु रोक्न सिफारिस गरेको छ ।

सीसीएमसीको शनिबार बसेको बैठकमा यसबारे छलफल भएको मन्त्री गुरुङले बताए । ‘विद्यालय तथा कलेजहरुले भौतिकको साटो अनलाइन कक्षा चलाउने विषयमा छलफल चलेको छ,’ बैठकपछि उनले अनलाइनखबरसँग भने, ‘मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने नलैजाने निर्णय भइसकेको छैन ।’पछिल्लो समय कोभिड–१९ संक्रमण बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सीसीएमसी बैठकले सतर्कता अपनाउन सबैलाई अपिल पनि गरेको छ ।

बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीलाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७ आइतबार ००:००  ६ : १० बजे