१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

लैङ्गिक उत्तरदायी शासनका लागि कपिलवस्तुमा सार्वजनिक सुनुवाइ



मायादेवी अनलाइन, तौलिहवा ।

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि कपिलवस्तु नगरपालिकामा सार्वजनिक सुनुवाइ गरिएको छ । सुनुवाइमा नागरिकले न्यायिक समितिको कामकारबाही, लक्षित वर्गका लागि विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन र योजना निर्माणमा जनप्रतिनिधिको भूमिकाबारे प्रश्न उठाएका छन् ।

सहभागीले न्यायिक समितिमा हालसम्म परेका ४६ वटा उजुरीको अवस्था, नागरिकको पहुँच तथा समितिको कामप्रति विश्वास र विश्वसनीयताबारे जानकारी मागेका थिए । न्यायिक समितिको काम निष्पक्ष, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका लागि सञ्चालन भइरहेका कार्यक्रमको प्रभावकारिता, बजेट कार्यान्वयन र लक्षित समुदायको सहभागिताबारे समेत प्रश्न गरिएको थियो ।

योजना निर्माण, बजेट विनियोजन, कार्यान्वयन र अनुगमनका चरणमा लक्षित वर्गको सहभागिता सुनिश्चित गर्नुपर्ने सहभागीको भनाइ थियो । महिला तथा बालबालिका शाखाकी सरोजा चौधरीले महिला तथा बालबालिकाको क्षमता विकास र नेतृत्व अभिवृद्धिका लागि सीप तथा नेतृत्वसम्बन्धी तालिम सञ्चालन भइरहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायका लागि सहायता, सीप विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

सामाजिक विकास शाखा प्रमुख तथा वरिष्ठ प्रशासकीय अधिकृत पदमराज श्रेष्ठले आवश्यकता पहिचान गरी सीप विकास, क्षमता अभिवृद्धि तथा आयआर्जनसँग जोडिएका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले लैङ्गिक उत्तरदायी तथा समावेशी शासनलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट निर्माण गरिने बताउनुभयो । लक्षित वर्गको आवश्यकता पहिचान गरी कुनै पनि नागरिक अधिकार तथा अवसरबाट वञ्चित नहुने गरी कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँले न्यायिक प्रक्रियालाई निष्पक्ष, पारदर्शी र पहुँचयोग्य बनाउँदै नागरिकका गुनासा तथा विवादको प्रभावकारी सम्बोधनमार्फत न्यायिक समितिप्रतिको विश्वास बढाउने प्रतिबद्धता जनाउनुभयो ।

गभर्नेन्स ल्याबको आयोजना तथा कपिलवस्तु नगरपालिकाको समन्वयमा एफसीडीओ, यूएन वुमन नेपाल, यूके इन्टरनेसनल डेभलपमेन्ट र हाम्रो साहस परियोजनाको सहकार्यमा कार्यक्रम भएको हो । कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनय कुमार श्रीवास्तवको अध्यक्षता, लुम्बिनी अपांगता बिकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाको स्वागत मन्तब्य रहेको कार्यक्रममा गभर्नेन्स ल्याबकी प्रदेश संयोजक राधा अधिकारीले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नुभएको थियो ।

पत्रकार पुजा पन्थीको सहजीकरण र नारायण रेग्मीको संचालन रहेको कार्यक्रममा वडाध्यक्ष जाहिद खान, रवेन्द्र नाथ तिवारी, रामजीत कुर्मी, दिपक गुरुङ्ग, मोहनलाल शर्मा, रामगोपाल यादव, इन्सान अलि धुनिया, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरु, गैरसरकारी संस्था महासंघ कपिलवस्तु अध्यक्ष जयप्रकाश पाण्डे, नारी शिल्पकला केन्द्रका उपाध्यक्ष जुनु श्रेष्ठ, नवजीवन संस्थाका कार्यक्रम संयोजक प्रेरणा बिष्ट, लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८३ बुधबार ००:००  ८ : ३१ बजे