६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो, ६० प्रतिशत ठाउँमा मान्छेले जानीजानी लगाए



काठमाण्डौँ ।
यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको कात्तिक महिनादेखि हिजोसम्म देशभरका ४ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको छ ।

यो सङ्ख्या नेपालमा डढेलोको रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै भएको प्राधिकरणका उपसचिव सुन्दर शर्माले जानकारी दिनुभयो । यसपटक सात प्रदेशका ७७ वटै जिल्लामा डढेलो लागेको छ ।

डढेलोबाट पाँच जनाको ज्यान गएको छ भने हजारौँ पशुपक्षी तथा हजारौँ हेक्टर जमिनमा क्षति पुगेको छ । कति क्षेत्रफल जमिनमा डढेलो लाग्यो भनेर तथ्याङ्क सङ्कलनको काम भइरहेको पनि उपसचिव शर्माले बताउनुभयो ।

६० प्रतिशत ठाउँमा मान्छेले जानाजान डढेलो लगाएको, ३० प्रतिशत ठाउँमा लापरबाहीका कारण र १० प्रतिशत ठाउँमा सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलो लाग्ने गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । नयाँ घाँस पलाउने आशामा नागरिकले डढेलो लगाउँदा त्यसले ठूलो क्षति निम्त्याइरहेको पोखरेलको भनाइ छ ।

यसपटकको इतिहासकै धेरै डढेलो लाग्नुमा मानवीय लापरबाही देखिएकाले जानाजान डढेलो लगाउनेलाई तत्कालै कारबाही गर्ने पनि उहाँले चेतावनी दिनुभयो । सहर नजिकै र मानवीय तथा भौतिक क्षति धेरै हुने ठाउँमा हेलिकप्टरबाट पानी खन्याएर डढेलो नियन्त्रणको अभ्यास सुरु गरिएको र यसलाई निरन्तरता दिइने पनि सीईओ पोखरेलले जानकारी दिनुभयो ।

हिजो शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो सेना,प्रहरी, स्थानीय बासिन्दा, दमकल र हेलिकप्टरको सहायतामा नियन्त्रणमा आएको थियो । सम्भव भएसम्म जङ्गलको डढेलो नियन्त्रणमा पनि दमकल र हेलिकप्टरको प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको जानकारी दिँदै पोखरेलले स्रोत साधनले भ्याएसम्म दमकल र हेलिकप्टरको प्रयोग बढाउँदै लगिने बताउनुभयो ।

डढेलोका कारण वन मासिने, वन्यजन्तु लोप हुने, र बाक्लो तथा हानिकारक धुवाँका कारण हिमालको हिउँ समेत छिटै पग्लने जस्ता गम्भीर र दीर्घकालीन असरको जोखिम रहेको पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७७ सोमबार ००:००  ९ : ४६ बजे