२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

‘२०७२ वैशाख १२ गते अनि त्यो मरेर बाँचेको कहालीलाग्दो क्षण’



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
जब वैशाख १२ गते आउँछ, मेरो मन झसङ्ग भएर आउँछ । एक प्रकारले भन्ने हो भने यो दिन मेरो लागि त्यस्तो इतिहास बनेको छ कि यो फेरि आउने छैन । वि सं २०७२ साल वैशाख १२ गते । अर्थात् छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्प गयो । शनिबारको त्यो दिन हामी मुस्ताङको नेपाल चीन सिमानाको फेदीमा रहेको मुक्तिनाथ मन्दिर दर्शनको लागि विहानै पुगेका थियौँ । नेपालमा संघियता प्रवेश गरेपछि मुलुक टुक्रन्छ भनेर नेपाललाई एक बनाउने सन्देश लिएर हामीले हिमाल, पहाड र तराई जोडौँ अभियान लिएर मुस्ताङ पुगेका थियौँ । मुस्ताङ हाम्रो अन्तिम गन्तव्य थियो । पुग्न त हामी लोमानथाङ नै पुग्ने भनेका थियौँ तर मौसम अनुकुल नभएर त्यहाँसम्म पुग्न सकेनौँ ।

नेपाल भारत सिमानाका रुपन्देहीको सुनौलीबाट सुरु भएको यात्रा अनवरत रुपमा १२ दिनसम्म भइरह्यो । यो यात्रामा धेरै सुखदुख भए तर म त्यो दिन अर्थात् वैशाख १२ र १३ गतेको स्मरण गर्छु ।
वैशाख ११ गते विहानै मस्ताङको सदरमुकाम जोमसोमबाट विहानै हिँडेर हामी कागबेनी हुँदै राति मुक्तिनाथ मन्दिर पुग्यौँ । राति त्यही सुत्यौँ । त्यहाँको एक धर्मशालामा हामी मस्तसंग निदायौँ । त्यहाँ दाल भात खायौँ । बढी चिसो भएकाले एउटा सुरुङजस्तो लाग्ने ठुलो हलमा १५ जनाको टोली निदायौँ । कतिलाई त अक्सिजन कमी भएर रातभर सुत्न पनि सकेनन् ।

त्यसमा म र मेरो दाजु खिम प्रसाद न्यौपाने र भिनाजु दिपक न्यौपाने पर्यौँ । त्यहाँका मानिसलाई त्यस्तैमा सुत्ने दिन विताउने बानी परेको रहेछ । तर हामीलाई गारो भयो । त्यहाँ अरु होटल पनि थिए तर हाम्रो अभियान भएकाले हामीसंग पैसा पनि सकिएको थियो । त्यसैले त्यो धर्मशाला सुत्न र खानबस्न रोजेका थियौँ । जसोतसो विहान उठ्यौँ । त्यो दिन थियो २०७२ वैशाख १२ गते । त्यो दिन यति चिसो थियो कि नुहाउन सक्ने सामथ्र्य गएकामध्ये कसैलाई आएन । बाबु बाजेले भनेको ‘पञ्चस्नान’जस्तो गरेर विहानै मुक्तिनाथ भगवान्को दर्शनको लागि सुरसार गर्न थाल्यौँ । औधी चिसो थियो । सबैले पुजा सामग्री पनि खरिद गर्यौँ ।

एउटा बुढापुर्खाको भनाई छ जति तीर्थव्रत गरे पनि जीवनकालमा मुक्तिनाथलाई दर्शन गर्न नपाए त्यसको सार छैन । उसो त यो भनाइमाथि म त्यति कन्भिनस होइन तर पनि तान्यो मलाई मुक्तिनाथ मन्दिरले । त्यो अभियानमा हामी सबै वाम विचारधारा बोक्ने नै थियौँ । त्यसपछि मन्दिर गयौँ । मलार्य स्वर्ग कस्तो हुन्छ, छ थाहा छैन तर साथीहरुसंग शब्द फुत्काइहालेँ ‘ दीपक भिनाजु मलाई स्वर्गमा आएजस्तै भयो । म धेरै खुसी छु ।’

मैले स्वर्ग शब्द निकाल्दा भिनाजु दिपक र रेशम नमजैले हाँसेर मेरो खिसीट्यूरी गरे । म पनि हाँस्दै हाँस्दै फेरि १०८ धाराको जलले स्नान गर्न लागेँ । सबै साथीहरु यही धारामा जल लिएर स्नानमा हुनहुन्थ्यो । कति साथीहरु फोटो खिच्नमै ब्यस्त थिए । हाम्रो टिममा गएकीमध्ये लक्ष्मी अलिक साहसी नारी थिइन् । नाच्न पनि उत्तिकै ढंग भएकी, उनी त्यहाँ नाच्दै थिइन् । यो गर्दासम्म विहानको ८ बजेको थियो । त्यतिखेरसम्म हामी रमाएकै थियौँ । मन्दिर दर्शन गर्न भनेपछि हामीले भोक तिर्खा बिर्सियौँ । पानी पिउन मन लागे पनि चिसोका कारण पिउन सकिएको थिएन । मन्दिर दर्शन गर्दा र मुक्निाथ बाबासंग रमाउँदा विहानको ९ बजेको थियो ।

त्यसपछि झर्यौँ, जहाँ हामी बास बसेका थियौँ । त्यही धर्मशालामा विहानको खाना पनि खायौँ । अहिघल्लो दिन जोमशोमबाट एक दिनभर हिँडेर मुक्तिनाथ आउँदा हामी सबैजसो गलेका थियौँ । थप मन्दिरमा पुगेर आउँदा लखतरान थियौँ । त्यो टोलीमध्ये नयाँ स्थान देख्यो कि फोटो । भिडियो खिच्नेमा म पर्थे । अरु केही साथीहरु पनि थिए । धर्मशालाको माथि टलक्क हिमाल टल्किरहेको थियो । आखै अगाडीको हिमाल मिस गरेर गयौँ भने भोली त हिमाल चढ्न पाइन्छ पाइन्न यस्तै कुरा मेरो मनमा खेल्दै थियो । अनि मैले साथीहरुसंग प्रस्ताव गरेँ । माथि हिमाल चढौँ है । त्यो हिमालको नाम ठ्याक्कै बिर्सिएँ । मुक्तिनाथ मन्दिरको बाँयाँ उत्तरपट्टी विराजमान हिमाल ।

त्यसमध्ये रेशम, खिम प्रसाद, राजन लगायतले मेरो प्रस्ताव स्विकार्नुभयो । केही साथीहरु हामी चढ्न सक्दैनौँ भनेर जान मान्नु भएन । त्यसपछि हामी ६ जना जतिले बाटो ततायौँ । ज्याकेट, जुत्ता लगायौँ । स्थानयिलाई सोध्दा त्यहाँ जाँदा लेक लाग्छ भन्ने सुनियो । अनि अरु उपाय हामसिंग थिएन काँचो अदुवा पकेटमा राख्यौँ । जीवनजल अनि पानी लिएर हामी उकालो चढ्यौँ ।

अघिल्लो सदनको थकानले हामी यतिसम्म लखतरान थियौँ कि खुट्टालाई एक भित्ता पनि सार्न सक्ने स्थिति थिएन । तर एउटा उखान छ ‘खाने मुखलाई जुँगाले छेक्दैन’ हाम्रो हिमाल चढ्ने उत्कटलाई थकाइले छेकेन । साहस गर्यौँ । चढि रह्यौँ । तयसमधये पनि राजन, खिम र म अलिक माथि पुग्यौँ तर दीपक, रेशमहरु अलि पछि रहे । पहाडमा हिँड्ने गोरेटोबाहेक ठुलोबाटो थिएन । ठाडै उकालो थियो । मुटु ढपढप गरिरहेको थियो ।

श्वास नपुगेर स्याँस्याँ भइरहेको थियो । यतिञ्जेल जम्मा आधा घण्टा भएको रहेछ पहाड उकालो लागेको । बाटामा गाइगोरु चराउने एक दुई जना भेटिन्थे । अनि मैले सोधेँ– ऊ माथि हिउँमा पुग्न कति समय लाग्छ ? नाम बिर्सिएँ उहाँले भन्नुभयो अझै २० मिनेट । डर बढ्दै गइरहेको थियो । त्यतिखेरसम्म बातावरण ठिकठाक नै थियो । हल्का अंध्यारोजस्तो थियो । जनतन स्याँस्याँ गर्दै भए पनि त्यो हिमालको वास्तविक स्वाद चाख्ने ठाउँमा पुग्यौँ । केही साथीहरु अलि तल हुनुहुन्थ्यो । त्यहाँ पुगेपछि यस्तो अनुभुति भयो कि म आकाशमा छु या धर्तीमा ? सबै साथीहरु खुसीले बुर्कुसी मार्दै थिए । त्यतिखेर विहानको ११ बजेर ४५ मिनेट गएको थियो ।

अनि साथीहरु पनि आइपुगे । सबै मिलेर एक छिन हिउँमा खेल्यौँ । लडीबुडी गर्यौँ । फोटो भिडियो खेल्यौँ । चारैतिर हिउँ नै हिउँ थियो । चिसो थियो । करिब १५ मिनेट त्यहाँ खेल्यौँ । खेल्दाखेल्दै त्यहाँको मौसम कस्तो भइरहेको छ पनि पत्तै भएन । एक्कासी चारैतिर कालो अँध्यारो भयो ।तीव्र गतिमा चिसो बतास चल्यो । बादल यसरी कालो भएर मडारिँदै थियो कि टाउका माथि नै आकाश आएरबसेजस्तो नजिकै । त्यत्तिकैमा हिमपात पनि हुन थाल्यो ।

अब त्यहाँ बस्ने धैर्यता रहेन । तल ठाडै भीर थियो । मैले अकस्मात् पारिपट्टी हेरेँ । मुक्तिनाथ मन्दिरको पारिपट्टी लोमानथाङ जाने बाटोतिरक नाङ्गा डाँडाहरु खसेको देखेँ । त्यति मात्र होइन, त्यहाँ बुङ्ग धुलो उड्यो । मेरो मनले ठाउँ छोड्यो यतिखेर मध्यान्हको १२ बज्ने आँटेको थियो । मैले साथीहरुलाई भनेँ ‘साथीहरु स्थिति खराब छ भागिहालौँ ।’ अनि सबै जिउ ज्यानको बाजी लगाएर हाम फाल्यौँ । हिमपात भइरहेको छ । मौसम यसरी कालो भइरहेको थियो झर्दा बाटो सम्म देख्न पाएनौँ । लडीबुडी गर्दै जेनतेन ओर्लियौँ । शरीरमा चोट पनि लागेको रहेछ । खुट्टमा पनि चोट थियो । हिमालबाट भाग्दा केही थाहा पाएनौँ ।

No photo description available.

तल धर्मशाला भएको ठाउँमा पुग्दा त केही ठाउँ रुवाबासी चलेको । एक जनाले भन्नु भयो । काठमाण्डौँमा भुकम्प गयो रे । धरहरा ढल्यो रे । ३०० मानिस मरे रे । म झसङ्ग भएँ । अनि सोधेँ कहिले अहिले भर्खरै । विहान ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको रहेछ । जुनबेला हामी माथि खेल्दै थियौँ । यो सुन्दा त सुरुमा म आत्तिएँ । आमाबुबालाई सम्झिएँ । बाँचेर आएकोमा खुसी नै भएँ । त्यतिखेर कतै फोन लागेन । कहिँ कतै कुरा हुन सकेन । सबै साथीहरु बसमा चढेर हाम्रो गाडी रहेको स्थान जोमसोम हिँड्यो । त्यतिखेरसम्म दिउसोको १ बजेको थियो । सबै आत्तिएका थिए । केहीसाथीहरुका आफन्त परेको खबर भयो । उनीहरु रुन कराउन थाले । स्थिति निकै भावुक भयो । जसोतसो हामी जोमसोमम्म आइपुग्यौँ । जोमसोमदेखि मुक्तिनाथसम्मको यात्राको बीचमा हामी सबैले बाँचिन्छ या मरिन्छ भनेर आखा चिम्म गरेर एक अर्कालाई छोपेर बसेका थियौँ ।

त्यसपछि सबै जना जोमसोम नबस्ने निर्णयमा पुग्यौँ । हाम्रो टिम लिडर अनिल किशोर घिमिरे, रेशम, दीपक, तिलक सरहरुले रातिसम्म म्याग्दीको बेनीसम्म पुग्न सकिने लख काटे । कतिले वितरा परिन्छ भन्दै थिए । कतिले अब मरिन्छ भन्दै थिए । सबैले जसोतसो निस्कने सल्लाहा गर्यौँ । अनि बाटो ततायौँ । बसमा रुवाबासी थियो । घर फोन लागेन । त्यहाँ पनि मानिस मरेका, च्यापिएकाको दुर्दशाको थप खब सुन्यौँ । झन् आत्तियौँ । आत्तिएर के गर्नु त्यतिबेला, सहनुको विकल्प थिएन । मुक्तिानसम्म् पुग्दाको त्यो बाटोको कल्पना गर्दा अहिले पनि झसङ्ग हुन्छ । भुकम्पका कारण बाटाभरी चट्टान र ढुंगा खसेका थिए । तिनलाई फाल्दै फाल्दै हामी साँझ सात बजे तातोपानीसम्म आइपुग्यौँ । त्यसभनदा अघि बढ्ने हिम्मत भएन । त्यहीँ खाना पकायौँ राति । बसमै ग्यास चुलो थियो । अनि कति गाडीमा कति त्यहीँको सानो झप्रोमा बस्यौँ । रातभर निद्रा लागेन । वैशाख १२ गते सकियो । अर्कोदिन विहानै हिँड्यौँ । अनि बाग्लुङ सदरमुकाम पुग्यौँ । वैशाख १३ गते पनि विहानको समयमा भुकम्पले तर्सायो । बाग्लुङ कालिका मन्दिरको दर्शन गर्दै गर्दा हल्लायो । अघिल्लो दिन हिमालमा हल्लाएको कुनै अनुभूति भएन ।

त्यो दिनमात्र हल्का अनुभुति भयो । अनि अर्को रात पोखरा बस्यौँ । पोखराको एक खेला चौरमा रातभर मानिस आएर बसे । किनकि परकम्पन चलिरहेको थियो । हल्लाइरहेको थियो । पोखरा आउँदा त धेरै जनधनको क्षति भएको खबर सुनियो । अनि घर निस्कियौँ सबै जना । मुटुभरी पीडा, छट्पटी, वैचनी लिएर । घर आएपछिको कुरा गर्दा यो अनुभूति निकै लामो हुन्छ । त्यसैले मेरो लागि २०७२ वैशाख १२ गते इतिहासको पानामा अमिट क्षण बनेर बसेको छ ।

त्यसलाई म कहिल्यै भुल्न सक्दिनँ । उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो ।
गोरखा भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

लेखक न्यौपाने पत्रकार तथा साहित्यकार हुनहुन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८ आइतबार ००:००  ९ : ४७ बजे