चन्द्रौटा ।
कपिलवस्तुकाे शिवराज नगरपालिकामा श्रमिकहरूले आफनो हक, अधिकार र सम्मानको माग गरेका छन् । १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शिवराजमा’मनोसामाजिक सुरक्षा सुनिश्चित गरौं, श्रमिकको सम्मान गरौं’ भन्दै श्रमिकहरू संगठित भएर आवाज उठाएका हुन् । शिवराज नगर स्तरीय श्रमिक सञ्जालको आयोजना र सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा भएकाे कार्यक्रमले श्रमिकका समस्या समाधानका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।
शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्राैटा बजारबाट सुरु भएको सचेतना रेर्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । सहभागी श्रमिकहरूले हात–हातमा प्लेकार्ड र ब्यानर बोकेर श्रमको उचित मूल्य र सामाजिक सुरक्षाको माग गरेका थिए । श्रमिकहरूकाे सहभागीता भएकाे कार्यक्रममा आफ्नो पहिचान र अधिकारका लागि विभिन्न सराेकारवालाले ऐक्यबद्धता जनाएका थिए ।
शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्र बेल्वासेले श्रमिकहरू देशको आर्थिक मेरुदण्ड भएको बताए । उनले श्रमिकहरूले भोग्नुपरिरहेका आधारभूत समस्याहरूप्रति राज्यका सबै तह संघीय, प्रादेशिक र स्थानीय सरकार अत्यन्तै गम्भीर र संवेदनशील हुनुपर्नेमा विशेष जोड दिए । अध्यक्ष बेल्वासेले श्रमिकको पसिनाको सम्मान नभएसम्म र उनीहरूको दैनिक जीवनमा आइपर्ने न्यूनतम समस्याहरू हल नभएसम्म वास्तविक समृद्धि सम्भव नहुने बताए । उनले स्थानीय तहबाट श्रमिकका हितमा नीति निर्माण गर्न आफू सदैव तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।
शिवराज नगर स्तरीय श्रमिक सञ्जालकी अध्यक्ष यशोदा नेपालीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै गिता खड्काले श्रमिक दिवसको सान्दर्भिकता र वर्तमान अवस्थामा श्रमिकहरूले सामना गरिरहेका चुनौतीका बारेमा प्रकाश पारेकी थिइन् । सामाजिक परिचालक सबिता अधिकारीले संचालन गरेको कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि श्रमिकहरूको न्यूनतम पारिश्रमिक, स्वास्थ्य बीमा र सुरक्षित कार्यस्थलको ग्यारेन्टी हुनुपर्ने कुरामा जोड दिएका थिए ।

दिवसको अवसरमा आयोजित यस कार्यक्रमले नगर भित्रका श्रमिकहरूको अवस्था र राज्यको दायित्वका बारेमा महत्वपूर्ण बहस सिर्जना भएको सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको संयुक्त साझेदारीमा संचालित स्थानिय अधिकार कार्यक्रमका सहायक कार्यक्रम अधिकृत संजिव गहतराजले बताए ।
संस्थाले श्रमिकहरूलाई संगठित हुन र आफ्ना मागहरू स्पष्ट रूपमा राख्न थप मद्दत पुगेको सहभागीहरूले बताएका थिए । श्रमिकहरूको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रममा आगामी दिनमा श्रमिक आन्दोलन र अधिकार प्राप्तिका लागि नयाँ उर्जा थपेको थियाे ।







प्रतिक्रिया