१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वैशाख मसान्तसम्म बाणगंगाका हाट बजार बन्द, विद्यालय परीक्षा सकेपछि बन्द हुने



मायादेवी अनलाइन, चारनम्बर ।

कोभिड १९ नियन्त्रणको लागि कपिलवस्तुको बाणगंगा नगरपालिकाले २४ बुँदे निर्देशन जारी गरेको छ । संक्रमण नियन्त्रणको लागि भएको वृहत छलफल तथा नगरस्तरीय स्तरीय विपद् ब्यवस्थापन समितिको आइतबार बसेको बैठकले वैशाख मसान्तसम्म हाट बजार बन्द गर्ने लगायतका कुरा समेटेर २४ बुँदे निर्देशन जारी गरेको हो ।

नगरको निर्णय अनुसार वैशाख मसान्तसम्म सम्पूर्ण हाटबजार बन्द हुने छन् भने विद्यालयको हकमा परीक्षा सकेर मात्र बन्द गरिने छ । भोलिबाट नै यो निर्णय लागु हनुे नगरपालिकाले जनाएको छ ।
आजबाट नगरमा विद्यार्थीको परीक्षा सुरु भएकाले तत्काल परीक्षा स्थगित गर्दा विद्यालय र बालबालिकाको पढाई प्रभावित हुने बताउँदै नगरले चाँडै परीक्षा सक्न भनेको हो । परीक्षा चलाउँदा सामाजिक दुरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन विद्यालयलहरुलाई निर्देशन दिइएको छ ।
हाट बजारसंगै पार्टी प्यालेस, पनि बन्द हुने छन् भने होटलहरु राति ८ बजेपछि बन्द हुने छन् । यस्तै रंगशालाका खेलकुद पनि नगर्न अनुरोध गरिएको छ ।

२५ जनाभन्दा बढी हुने प्रकारका कार्यक्रम तथा सभा इत्यादि नगर्न नगरप्रमुख मंगलप्रसाद थारुले आग्रह गर्नु भएको छ । बैठकले कोरोना नियन्त्रणमा अन्य क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । आवश्यक कामभन्दा बाहिर नजान, जानै परे मास्कको अनिवार्य प्रयोग गर्न, पटक पटक साबुन पानीले हात धुन, सेनेटाइजर प्रयोग गर्न पनि अनुरोध गरिएको छ । यस्तै सवारीको हकमा चालक र यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र सिट क्षमताभन्दा बढी राखेको पाइए तत्काल कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरेको छ ।

नगरको वैठकको निर्णय उलंघन गर्नेमाथि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कारबाही हुने नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले बताउनु भयो । वृहत छलफलमा केहीले विद्यालय, हाटबजार, पसल बन्द गर्न भनेका थिए भने केहीले बन्द समस्या समाधान नभएको भन्दै आत्तिन नहुने बताएका थिए । छलफलमा प्रदेश सांसद विष्णु पन्थी, शिक्षा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराई, सबै वडाध्यक्षहरु, राजनीतिक दल तथा उद्योग बाणिज्य संघका प्रतिनिधि, नागरिक अगुवा तथा संचारकर्मीको सहभागिता थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८ आइतबार ००:००  २ : ३७ बजे