२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

उदाहरणीय कामः बुद्धभूमिद्धारा कोरोनाका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा



मायादेवी अनलाइन, बुद्धभूमि ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढिरहेका बेला कपिलवस्तुको एक स्थानीय तहले कोरोनाका विरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिएर लोकप्रिय काम गरेको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिकाले नगरभित्रका कोरोना भाइरसका संक्रमितलाई उपचारका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको हो ।

कोरोनाका जटिल विरामीलाई उपचारका लागि बुटबल, भैरहवा, नेपालगञ्ज, कोहलपुरसम्म निशुल्क एम्बुलेन्स सुबिधा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमित भेटिए पछि विरामीको नजिक पर्न डराउने र उपचारका लागि अस्पतालसम्म लैजाने साधन नभेटिने गरेको अवस्थामा बुद्धभूमिले निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको हो ।

नगरबासीको सेवाका लागि नगरपालिकाले कोरोना महामारीको बीचमा पनि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । एम्बुलेन्स सेवा कसरी दिने, विरामीले कसरी सम्पर्क राख्ने भन्नेबारे नगरपालिकामा बुझ्न उहाँले आग्रह गर्नुभयो ।

बुद्धभूमि नगरपालिकाले कोरोनाको पहिलो चरणमा पनि कोरोना नियन्त्रणमा प्रभावकारी काम गरेर चर्चा कमाएको थियो । जिल्लाका अरु स्थानीय तहले कोरोना जाँच गर्न छाडिसकेको बेला बुद्धभूमिले हप्ताको एक पटक कोरोनाको शंका लागेका विरामीलाई निशुल्क परिक्षणको व्यवस्था गरेको थियो ।

कोरोना संक्रमितको मनोवल उच्च बनाउनका लागि नगरपालिकाले विभिन्न काम गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो । स्वास्थ्य नै सबै भन्दा ठूलो कुरा भएकाले आफुहरु कोरोना नियन्त्रणमा प्रभावकारी ढंगबाट अगाडी बढ्न थालेको बताउनुभयो ।

कोरोना सम्बन्धि सचेतना जगाउँदै गाउँ गाउँमा माइकिङ गरिरहेको पनि उहाँले बताउनुभयो । हाट बजारलाई पूर्ण रुपमा बन्द गरेर नगरबासीलाई कोरोना सचेतनाबारे अभियान सञ्चालन गरेको बताउनुभयो ।

कोरोनाको सम्भावित जोखिमलाई मध्यनगर गरेर तत्काल क्वारेनटाइन र आइसोलेस बनाउन तर्फ पनि आफुहरु अगाडी बढेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  ७ : १४ बजे