नेपालगन्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेता अमरेशकुमार सिंहले वर्तमान सरकारको मूल्याङ्कन गर्ने बेला भइनसकेको बताउनुभएको छ । उहाँले सरकारले हरेक क्षेत्रमा सकारात्मक कामको सुरुवात गरेको दाबी गर्नुभयो ।
मेची–महाकाली पदयात्राको पूर्वतयारीका लागि नेपालगन्ज पुग्नुभएका सांसद सिंहले शुक्रबार पत्रकारसँग कुरा गर्दै सरकार गठन भएको छ महिना मात्रै भएकाले अहिले नै मूल्याङ्कन गर्न नहुने बताउनुभयो ।
नेपाली जनताले ठुलो विश्वास र भरोसा गरेर गठन गरेको रास्वपाको दुईतिहाइ बहुमतको सरकारलाई असफल हुने छुट नभएको उहाँले स्पष्ट पार्नुभयो । सरकारले जनताका अपेक्षा र भरोसा पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विगतमा दुईतिहाइ बहुमत प्राप्त सरकारसमेत आपसी विवादका कारण असफल भएको स्मरण गराउँदै सांसद सिंहले वर्तमान सरकारलाई त्यस्तो छुट नरहेको बताउनुभयो ।
मेचीदेखि महाकालीसम्मका जनतालाई जोड्न, उनीहरूका समस्या सुन्न तथा विकास निर्माणको अवस्था बुझ्न आफूले पदयात्रा गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
सांसद सिंहले भन्नुभयो, “अहिलेसम्म नेताले बोल्ने र जनताले सुन्ने प्रणाली थियो । तर, म आफैँ नबोली जनताका कुरा सुन्न निस्किएको छु । जनताले भनेका, भोगेका र देखाएका सबै कुरा टिपोट गर्छु, भिडियो बनाउँछु र त्यसको विस्तृत विवरण तयार गरी कार्यान्वयनका लागि प्रधानमन्त्री र पार्टी सभापतिलाई बुझाउँछु ।”
पदयात्राका क्रममा देखिएका तथा स्थानीयले सुनाएका समस्या र विकास निर्माणको अवस्थाबारे आफूले संसद्मा समेत कुरा उठाउने उहाँले बताउनुभयो ।
नेपाली जनतालाई धर्म, जात र भूगोलका आधारमा विभाजन गर्न नसकिने उल्लेख गर्दै सिंहले पदयात्राको मुख्य उद्देश्य सबै नेपालीलाई जोड्नु र विकास निर्माणलाई तीव्रता दिनु रहेको बताउनुभयो ।
रास्वपा बाँकेका अध्यक्ष विवेक श्रेष्ठका अनुसार सांसद सिंहले बाँकेमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुका साथै हुलाकी राजमार्गको निर्माण अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले कुसुम, डुडुवालगायत स्थानमा पुगेर सर्वसाधारणसँग भेटघाटसमेत गर्नुभएको श्रेष्ठले बताउनुभयो ।
यसै क्रममा सिंहले विभिन्न व्यक्तित्वसँग भेटघाट तथा अन्तरक्रिया गरी रास्वपाका एजेन्डाबारे छलफल गर्नुभएको छ । विभिन्न पार्टीबाट रास्वपामा प्रवेश गर्नेहरूलाई उहाँले पार्टीमा स्वागतसमेत गर्नुभएको रास्वपा बाँकेले जनाएको छ ।











प्रतिक्रिया