३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

कोरोना महामारीः दाङमा आजदेखि लकडाउन



दाङ ।
दाङमा आज बिहान ६ बजेदेखि लकडाउन सुरु भएको छ । कोरोनाको नयाँँ भेरियन्टसहितको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनको घोषणा गरिएको हो ।

गएको मंगलवार घोराहीमा भएको सर्वदलीय बैठकले आजदेखि आउँदो २५ गते बेलुका ६ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो ।

दाङमा लकडाउनको प्रभाव बिहानैदेखि देखिएको छ भने बजार, यातायात सबै सुनसान भएको छ । लकडाउनको समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

यस्तै अत्यावश्यक गाडीबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइएको छ । बैठकले कोरोना विशेष बेलझुण्डि अस्पताललाई ६५ बेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय बेड बनाउने निर्णय गरेको थियो ।

तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजनसहितको ४०र४० बेड र प्रत्येक गाउँपालिकाले २० बेड क्षमताका अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गर्ने निर्णय भएको थियो। दाङका १० वटै पालिकाले आइसोलेशन सेन्टर बनाउने काम सुरु गरेका छन ।

कोरोना महामारीकाबीच खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।

वैशाख २५ गतेपछि भने अवस्था हेरेर थप निर्णय लिइने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  ७ : १३ बजे