१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

स्वास्थ्य मन्त्रालयको खराब सूचीमा कपिलवस्तु, निशेधाज्ञाको लागि ५०० संक्रमित कुर्दै प्रशासन



चन्द्रकान्त न्यौपाने, चारनम्बर ।

कोरोना सङ्क्रमणबाट अति प्रभावित जिल्लाहरूमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको भन्दै शुक्रबार बिभिन्न जिल्लाहरुको नाम सरकारले सार्वजनिक गर्यो ।

त्यसमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरलगायतका जिल्ला छन् । यी जिल्लाहरुमा बिरामीको सङ्ख्या धान्नै नसक्ने अवस्थामा आएको स्वास्थ्य मन्त्रालयको जनाउ छ । यसको अर्थ ती जिल्लामा सङ्क्रमणका विरामीका लागि अस्पतालमा शय्या उपलब्ध गराउनै नसक्ने अवस्था छ । सङ्क्रमण डरलाग्दो गरी बढिरहेको छ ।
यी जिल्लाहरुमध्ये लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, बर्दिया लगायतमा निशेधाज्ञा छ । तर कपिलवस्तुमा स्थिति भयाबह बन्दा समेत अझै निशेधाज्ञा गर्ने निर्णयमा यहाँको स्थानीय प्रशासन पुग्न सकेको छैन ।

यस्तो स्थितिमा जिल्ला प्रशासनको तयारी के छ भनेर बुझ्दा ५ सय संक्रमित नहुँदासम्म लकडाउन या निशेधाज्ञा नहुने आसय आएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले मायादेवी अनलाइनसंग पूर्ववत् स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार तराईका जिल्लामा ५ सय संक्रमित नपुग्दासम्म निशेधाज्ञा नगर्नू भनेकाले त्यो निर्णय लिन नसकिएको बताउनु भयो ।

यद्यपी जिल्लाको स्थिति अनुसार सरोकारवालाको सुझावका आधारमा भने अर्को निर्णय लिन सकिने अधिकार पनि आफूसंग भएको उहाँले बताउनु भयो । तर अहिले भर्खरै भने त्यो सोँचमा प्रशासन नरहेको प्रजिअ पाण्डेले बताउनु भयो । तुरुन्त निशेधाज्ञा गर्दा निम्न आय भएका र मजदुरहरुलाई खान लगाउन समस्या आउने भन्दै सबै कुरालाई मध्यनजर गरेर निर्णय गर्नु पर्ने उहाँले मायादेवीसंग बताउनु भयो ।

अर्कोतर्फ सरोकारवालाले भने अब लकडाउन या निशेत्राज्ञा गर्नु पर्ने बताउँदै आइरहेका छन् । हुन पनि कोरोनाको इण्डियन भेरियन्टबाट जिल्लामा यो समाचार तयार पार्दासम्म ४४ जनाले ज्यान गुमाएका छन् भने करिब ३ सय ६० जति सक्रिय संक्रमित रहेका छन् । आज मात्र मायादेवी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । यो हप्तामात्रै जिल्लामा ९ जनाको मृत्यु भयो भने विहिबार हिजो मात्रै ५ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका थिए ।

गत बर्ष यसबेला पूर्ण लकडाउन थियो तर यति द्रुत संक्रमण भने थिएन । तर अहिले यतिखेर चारैतिर संक्रमण फैलिरहेको छ । मानिस दिनदिनै मरिरहेका छन् भने स्याम्पल जाँच भएकामध्ये ९४ प्रतिशतसम्मलाई कोरोना देखिएको छ । अहिले हाट बजार र विद्यालयबाहेक सबै खुला छन् । खुला सिमामानाका कारण मानिसको आवतजावत पनि उत्तिकै छ । यसैले कोरोना संक्रमणको चेन ब्रेक गर्न तुरुन्त निशेधाज्ञा गर्नु पर्ने कोरोना फोकल पर्सन उमेश घिमिरे बताउनु हुन्छ ।

प्रशासनले कडाई नगरेसम्म मानिसको लापरबाही कम नहुने भन्दै कोरोना फैलन नदिने एक मात्र उपाय भनेको लकडाउन नै भएको सरोकारवालाको बुझाई छ । स्थानीय प्रशासनले ५०० संख्या कुरेर मात्र अर्को निर्णय गर्ने हो भने स्थिति झन् भयावह हुने र कोरोना नियन्त्रणबाहिर जाने उनीहरुको भनाई छ । जिल्लामा अक्सिजन, भेन्टिलेटर र आइसियू वेड पनि अभाव भएकाले उपचारै नपाएर सर्वसाधारणले मृत्युवरण गर्नुपर्ने स्थिति आउन सक्ने भएकाले त्यो संख्या कुर्न नहुने नागकरिकले मायादेवीसंग गुनासो राखेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  ६ : ०२ बजे