१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रूपन्देहीमा जेष्ठ १३ सम्म लकडाउन थप



रुपन्देही ।
रूपन्देहीमा १३ जेठसम्म निषेधाज्ञा थप भएको छ । जिल्लामा कोरोना संक्रमण फैलिने क्रम बढ्दै गएको निष्कर्ष डीसीसीएमसीको बैठकले निकाल्दै निषेधाज्ञा बढाउने सिफारिस गरेअनुसार १३ जेठसम्म निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।

यस अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने साधन र अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको थापाले जानकारी दिए ।

यस्तै जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । भेला, भिडभाड, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ । पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ मल, ब्यूटिपार्लर र स्विमिङ पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

त्यस्तै पराम्परागत रूपमा भई आएको दैनिक रूपमा हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, भाषा कक्षा, ट्युसन सेन्टरलगायतका जमघट हुने गतिविधि सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८ बुधबार ००:००  ५ : ३६ बजे