८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोनाबाट एमाले नेता सतमान पुनको मृत्यु



रुकुम पूर्व ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य सतमान पुन मगरको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ६० वर्षीय पुनको मंगलबार बिहान मृत्यु भएको एमाले लुम्बिनी प्रदेशका सचिव खेममान खड्काले जानकारी दिए।

केही दिनअघि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा कोरोना परीक्षण गर्दा उनलाई संक्रमणको पुष्टि भएको थियो। श्वास प्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल रुकुम पश्चिमबाट थप उपचारका लागि जेठ १ मा हेलिकप्टरमार्फत कोहलपुर पठाइएको थियो।

रुकुमपूर्वको भूमि, व्यवस्था तथा सुकुम्बासी आयोगका अध्यक्ष रहेका उनी २०४९ देखि २०५४ सालसम्म तत्कालीन जिल्ला विकास समिति रुकुमका सदस्य थिए। नेकपा हुँदा रुकुमपूर्वको जिल्ला सचिव र केही समय एमालेका जिल्ला संयोजक पनि भएका थिए। पुन पुथाउत्तरगंगा गाउँपालिका–१० बाछिगाउँ स्थायी बासिन्दा हुन्।

रुकुमपूर्वमा दोस्रो कोरोना भेरियन्ट फैलिए यता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। हाल ९४ जना सक्रिय संक्रमित रहेका मध्ये ८७ जना होम आइसोलेसनमा छन् भने ७ रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचाररत रहेका छन्।

प्रकाशित मिति : ४ जेष्ठ २०७८ मंगलबार ००:००  ४ : ४० बजे