१४ चैत्र २०७९, मंगलबार | Tue Mar 28 2023

तिलोत्तमाले बनायो ४० बेडको कोभिड अस्पताल



बुटवल ।
कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । तिलोत्तमा ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा ४० बेडको अस्पताल बनाइएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो सिष्टमबाट संक्रमितलाई आवश्यकता अनुसार अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ ।

बुधबार नगर प्रमुख बासुदेव घिमिरेले कोरोना फोकल पर्सन केशव भट्टराईलाई चाबी हस्तान्तरण गर्दै अस्थायी अस्पतालको उद्घाटन गरेका छन् । सो अवसरमा नगर प्रमुख घिमिरेले शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि अस्थायी अस्पताल निर्माण गरिएको बताए ।

सभा हल भवनमा पर्याप्त पुर्वाधार रहेकाले क्रमशः एक सय बेड बनाएर संक्रमितको उपचार गर्न सकिने प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा वडा नं. ९ का अध्यक्ष नारायण न्यौपानेसहितको एक समिति बनाइएको फोकल पर्सन केशव भट्टराईले बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ४ : १८ बजे