२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

२० जेठसम्म थपियो रूपन्देहीमा निषेधाज्ञा



रूपन्देही ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले २० जेठसम्म निषेधाज्ञा थपेको छ । जिल्लामा अहिले पनि कोरोना प्रभाव बढ्दो रहेकाले बुधबार बसेको जिल्ला प्रशासनको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासनकार्यालय रूपन्देहीका सूचना अधिकारी जनक थापाले रूपन्देहीमा २० जेठसम्म निषेधाज्ञा थप भएको जानकारी दिए ।

निषेधाज्ञा अवधिमा शान्ति-सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी, अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी साधनबाहेक अन्य पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको थापाले जानकारी दिए ।

यस्तै, जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भीडभाड, भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभाजुलुस गर्न निषेध गरिएको छ ।

सबै प्रकारका पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङमल, ब्युटिपार्लर, खेलकुदलगायत गतिविधिमा पनि रोक लगाइएको छ ।

पराम्परागत रूपमा भई आएको दैनिक आन्तरिक नित्यपूजाबाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ ।

शैक्षिक संस्था, प्रशिक्षण केन्द्रलगायत जमघट हुने गतिविधि सञ्चालन गर्न तथा होटल, रेस्टुराँ सञ्चालनमा पनि रोक लगाइएको छ ।

अति आवश्यकीय खाद्यान्न, ग्यास, तरकारी, फलफूल, दूधलगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि उद्योग वाणिज्य संघ र व्यापार संगठनले व्यवस्था मिलाउने सहमति भएको प्रशासनले बताएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८ बुधबार ००:००  ३ : ५३ बजे