६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बौद्धकालीन सम्पदाको अन्वेषण जरुरी : मुख्यमन्त्री पोखरेल



लुम्बिनी ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बौद्धकालीन सम्पदाको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रूपमा संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज २५६५औँ बुद्धजयन्तीका अवसरमा शुभकामना दिँदै उहाँले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा रहेका धेरै स्थलको अवस्थाका बारेमा जानकारी हुनसकेकाले माटोमुनि दबिएर रहेका ती सम्पदास्थलको अन्वेषण गरी संरक्षित गर्नु आवश्यक छ भन्नुभयो ।

बुद्धकालीन सम्पदाका रूपमा रहेका ऐतिहासिक स्थल तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सगरहवा, अरौराकोटलगायत स्थलको खोज, अनुसन्धान तथा पर्यटकीय हिसाबले ती क्षेत्रको विकास जरुरी रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि काम अघि बढेको जानकारी गराउँदै यी महत्वपूर्ण सम्पदास्थलमा पूर्वाधार तयार गरी पर्यटन प्रवद्र्धनका लागि बृहत्तर ढङ्गले काम अघि बढाउनुपर्ने जनाउनुभयो । “पर्यटन प्रवद्र्धनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ हामी योजनाबद्ध रूपले अघि बढिरहेका छौँ”, मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको जोखिमका कारण बुद्धजयन्तीमा लुम्बिनीमा औपचारिक कार्यक्रम आयोजना नगरिएको जानकारी गराउनुभयो । “आजभन्दा २५६५ वर्षअघि अर्थात् इसापूर्व ५६३ मा लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदूत हुनुहुन्छ । मानवकल्याण, अहिंसा र शान्तिको खोजीका लागि बुद्धले २९ वर्षका उमेरमा राजगद्दीको उत्तराधिकारसहित गृहत्याग गर्नुभयो”, शुभकामना सन्देशमा भनिएको छ ।

हिंसा र दुःखको कारण तथा समाधानको उपायको खोजीमा गृहत्याग गर्नुभएका सिद्धार्थ गौतम बुद्धले भ्रातृत्व र मानवकल्याणका लागि समाजलाई महान् दार्शनिक विचारबाट दीक्षित गर्नुभएको र मानिसलाई सत्कर्मका बाटामा हिँडाउन सफल हुनुभएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धका उपदेश आज बुद्ध दर्शनका रूपमा स्थापित भएको बताउनुभयो । बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानवजातिकै लागि अमूल्य निधि भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८ बुधबार ००:००  ५ : ३६ बजे