१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

‘कहिल्यै नओइलाउने फूलजस्ता थियौ तर दैवले चुँडी लग्यो !’



चन्द्रकान्त न्यौपाने, चारनम्बर ।

झट्ट हेर्दा हृष्ट, पुष्ट बलिष्ठ । मोटाघाटा । आँटिला । खाइलाग्दा । सधैँभरी हँसिलो अनि चम्किलो त्यो मुहार । जस्तोसुकै कठिन घडीमा पनि मुसुक्क मुस्कुराउने स्वभाव । कसैलाई केही पर्यो कि आफ्नो ज्यू ज्यानसमेतको प्रवाह नगरी काँध दिने । मनभित्र जतिसुकै पीरको पोको भएपनि अरुको खुसीको लागि उत्कट हाँसोका छालहरु छर्ने । कर्मठ, मिहिनेती, निस्कलंकित चत्रिका पर्याय । बहुमुखी प्रतिभाका धनी । कहिल्यै पनि स्वाभिमानबाट च्युत हुन नजान्ने । नेपाली भाषा तथा साहित्यका ज्ञाता । हजारौँ विद्यार्थीहरुका ढुकढुकी । दिल बहादुर श्रेष्ठ (दिलु)। अब केवल स्मृति पटलमा मात्रै रहनुभएको छ । उहाँका ती उपमाहरु अहिले केवल सम्झन मात्र बाध्य भएको छु । कारण उहाँले सदाका लागि छाडेर जानु भएको छ ।

गत २ हप्तादेखि भन्टीलेटरमा राखेर दिलुलाई बचाउन चिकित्सकहरुले हरसम्भव प्रयास गरे । हजारौँले बिभिन्न माध्यमबाट प्रार्थना गरे तर दैवको अगाडी कसैको केही लागेन । अन्ततहः उहाँले ४२ बर्षको उमेरमा मणिग्राम स्थित क्रिमसन अस्पतालको भेन्टिलेटर कक्षमा २०७८ जेष्ठ महिनाको २१ गते शुक्रबार यस धर्तीबाट आँखा चिम्लुन भयो । हजारौँलाई रुवाएर दिलु स्वर्गबास हुनुभयो । मृत दिलुप्रति हार्दिक श्रद्धाञ्जली ! शोकले भावविह्वल परिवारजनप्रति भावपूर्ण समबेदना ! मेरो प्रिय गुरु दिलु तपाईको स्वर्गमा बास होओस् । अलिविदा दिलु श्रेष्ठ !

जब मैले उहाँ यस धर्तीबाट बिदा हुनुभएको भन्ने खबर सुनेँ । किन हो किन पत्यार नै लागेन । दिलुको त्यो दुखद् खबरले स्तब्ध भएँ । भक्कानिएँ । काम गर्ने कुनै जाँगर चलेन । आँखाबाट बरबरती आँसु मात्र झरे । एक्लै कोठाको चुकुल लगाएर रोइरहेँ । अट्टाहस महसुस भइरहेको थियो । मनभरी वियोगको सुनामी चलिरहेको छ अझै पनि । तै पनि प्रिय दिलु सरको मृत्यु भएको छैन भनेर भगवान्संग पुकारिरहेको थिएँ । एकैछिनमा सामाजिक संजाल रंगिन थाले उहाँको निधनको सूचनाले । विद्यार्थी, शिक्षक, समाजका अग्रज र बुद्धिजिवीका फेसबुकमा देखिहालेँ अलविदा दिलु सर ! हार्दिक श्रद्धाञ्जली प्रिय गुरु दिलु श्रेष्ठ ज्यू । तिम्रो स्वर्गमा बास होओस् । रिप दिलु सर । यस्तैयस्तै थप भकान्निएँ ।

त्यसपछि नपत्याएर के गर्ने ? पत्याउन बाध्य भएँ । मलाई फेसबुकमा पनि उहाँप्रति श्रद्धासुमन अर्पण गर्न मन लागेन उतिखेर । किनकि ठ्याक्कै १ महिनाअघि गत अप्रिल ४ गते मैले उहाँसंग अन्तिमपटक बोल्न पाएको रहेछु । त्यतिखेर उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक संजाल रंगिएको थियो । यो देखिसकेपछि उहाँको अवस्थाको बारेमा थप जान्न मन लाग्यो । र फोन कल पनि नगरी उहाँलाई हेर्न भन्दै म्यासेञ्जरमा भिडिओ कल गरेँ ।

सुरुमा उठेन । अनि मैले दोहोर्याएर कल गरिनँ । त्यसपछि उहाँले मलाई कल ब्याक गर्नुभएको रहेछ । तर त्यतिखेर मैले पनि रिसिभ गर्न पाइनँ । राति साँझ सात बजेतिर फेरि भिडिओ कल गरेँ । त्यहाँ बोल्दा उहाँले जस्तो पहिले हुनुहुन्थ्यो । जस्तो पहिले बोल्नु हुन्थ्यो त्यसरी नै बोल्नु भयो । मैले सोधेँ सर हजुरलाई सन्चो छैन रहेछ । के भएको छ हजुरलाई ? उहाँले उस्तै हँसिलो र ठट्यौलो पारामै भन्नुभयो ‘चन्द्र म सन्चै छु । केही भएको छैन । हल्का श्वासप्रश्वासमा समस्या थियो । हल्का फोक्सोमा समस्या छ अरे । तर अहिले ठिक छु । औषधी आइरहेको छु ।’
सरको यो स्वस्थ बोलीपछि म ढुक्क भएँ । उहाँलाई त्यति ठुलो समस्या भएको रहेनछ भने । कोरोनाको दोश्रो लहरले कैयौँको ज्यान गएको हुनाले उहाँलाई भनेँ ‘हजुरले विशेष ख्याल गर्नू है । हजुरको श्वासप्रशवासमा समस्या रहेछ । हजुरले ख्याल गर्नुपर्दछ ।’

उहाँले हाँस्दै भन्नुभयो चिन्ता नगर चन्द्र । म ठिक छु । पत्रकार मान्छे तिमी धेरै हिाँडडुल गर्नुपर्दछ । निकै ख्याल गर्नू । त्यो शब्द अहिले सम्झँदा निकै भावुक हुन्छु । उहाँले आफूले बनाएको नयाँ घरको बारेमा पनि सुनाउनु भयो । म औधी खुसी भएँ उहाँ ठिक हुनहुन्छ भन्ने लागेर । ३ मिनेटजति सुख दुखका गफ गर्यौँ ।

अनि मनमनै गुनगुनाएँ कि यति स्वस्थ मानिसलाई पनि किन शीघ्र स्वास्थ्य लाभको कामना भन्दै मानिसहरुले सामाजिक संजाल रंगाएको होलान् ? मनमा त्यो कामना गर्नेमाथि एक प्रकारले घृणा नै जाग्यो मेरो मनमा ।

कुराकानीको शिलशिला जारी थियो । मैले मेरो एक आफन्तको श्वासप्रशवासको समस्या सुनाएँ, ‘सर मेरो एक जना आफन्तको फोक्सोमा समस्या छ ? मसिनो हल्का प्वाल परेको छ रे उहाँको फोक्सोमा ।’ उहाँले भन्नुभयो ‘सम्भव छ । मेरो पनि हल्का समस्या थियो । अहिले ठिक छु । कै पिर नगर्नु सञ्चो हुन्छ ।’ मैले धन्यबाद भनेँ । यस्तै गफ गर्यौँ । किनकि उहाँ मलाई पढाएको गुरु हुनुहुन्थ्यो । उहाँको म प्रसंसक नै थिएँ । उहाँ नेपाली विषयका दिग्गज गुरु हुनहुन्थ्यो । म मात्र होइन हजारौँ विद्यार्थीका ढुकढुकी हुनुहुन्थ्यो दिलु सर ।

कक्षा १२ । १२ देखि मास्टर डिग्रीसम्मका विद्यार्थीको आँखाको नानी बनेर दिलु सर रहनु भएको थियो । आफ्नो विषयमा गहिरो ज्ञान हासिल भएका, र पढाउने विषयलाई सजिलै बुझाउन सक्ने भएकाले दिलु सरलाई मन नपराउने कुनै विद्यार्थी थिएनन् । पढाउँदा पनि कहिले गजल भन्ने, कहिले गीत गाउने, कहिले हँसाउने, कहिले रमाइलो ठट्टा गर्ने गर्दा उहाँका प्रत्येक ४५ मिनेटका पिरियड कुनै नामुद हास्य टेलिश्रृङखला या चलचि हेरेको महसुस हुनुथ्यो मलाई ।

क्याम्पसमा कुनै कार्यक्रम भयो कसरी रोचक बनाउने ? कसरी उत्कृष्ट बनाउने भन्नेमा उहाँको ध्यान जान्थ्यो । यतिसम्मकी सामाजिक र शैक्षिक विषयमा नाटक तयार गरी कार्यक्रमस्थललाई नाटक घरमै परिणत गरिदिन सक्ने खालको हुनहुन्थ्यो उहाँ ।

उहाँ भाषा तथा नेपाली ब्याकरणका ज्ञाता पनि हुनुहुन्थ्यो । विद्यार्थीलाई कुनै ब्याकरणिक क्रुटी गर्न दिलु सरसामु छुट हुँदैनथ्यो । विद्यार्थीले गरेका साना गल्तीमा पनि पढाउने मुल विषय छोडेर पुरै ४५ मिनेटको पिरियड खर्चेको समेत भुल्नुहुन्थ्यो उहाँ । शिक्षण सिकाई क्रियाकलापको क्रममा उहाँसंग विताएका प्रत्येक सकेण्डको सम्झना आइरहेको छ अहिले मलाई । अहिले उहाँसंगको क्षण सम्झन्छु अनि भकान्निे गरेको छु । म मात्र होइन उहाँको निधनपछि हजारौँ विद्यार्थीका आँखा रसाएका छन् अहिले ।

विद्यार्थीको मात्र होइन उहाँ क्याम्पस प्रशासनमा पनि सबैको नानी बन्नु भएको थियो । करिब १३ बर्ष अघि यस्तै वि सं २०६३ । ६४ सालमा सिद्धार्थ क्याम्पस बुङचीमा प्रध्यापनमा जोडिनु भएका उहाँ कहिल्यै आलोचित हुनु परेन । निरन्तर क्याम्पस र विद्यार्थीको श्रृवृद्धिमा आफ्नो समय खर्चनु भएका उहाँले क्याम्पसले ऐतिहासिक क्यूएए गर्ने दौरानमा पनि प्रमुख भूमिका खेल्नु भयो । यस खालको सक्रियता, लगाव र उर्जाका कारण नै कयाम्पसले उहाँलाई नेपाली नेपाली विषय विभागको बिभागीय प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।

त्यसअघि वि सं २०५८ । ५९ सालमा उहाँ बाणगंगा १ वैरियामा रहेको आवर विज्डम बोर्डिङ स्कुलमा पनि नेपाली विषय शिक्षक भएर पढाउनु भयो । यसरी हेर्दा करिब २० बर्षसम्म कपिलवस्तुको शैक्षिक उन्नयनमा भूमिका खेलेका होनहार ब्यक्ति गुमाएको महसुस सबैले गरेका छन् । उहाँ साँच्चिकै बहुमुखी प्रतिभा सम्पन्न बयक्ति हुनहुन्थ्यो ।

यसैकारण उहाँलाई क्याम्पसले विद्यार्थी परामर्श समितिको संयोजक समेत बनाएको थियो स्वर्गिय श्रेष्ठलाई । त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा तथा साहित्यमा एमफिल जस्तो विशिष्ट अध्ययन सक्नु भएका उहाँ बाणगंगा साहित्यिक प्रतिष्ठानको आजिवन सदस्य समेत हुनुहुन्थ्यो । यस्तै उहाँ अन्य साहित्यिक संस्थाको नेतृत्व तहमा रहेर काम गर्नु भएको थियो । उहाँको नेतृत्व गर्ने क्षमताका कारण नै उहाँ नेवार समाज कपिलवस्तुका सचिव समेत बन्नु भएको थियो ।

साहित्यको गजल तथा कथामा विधामा राम्रो दख्खलता हासिल गरेका उहाँमा चित्रकला तथा काष्ठकलाको पनि उत्तिकै ज्ञान थियो । उहाँले भर्खर बनाउनु भएको वैरियाको घरमा पनि उहाँको हस्त तथा काष्ठकलाको उत्कृष्ट नमुना देख्न सकिन्छ । यति मात्र होइन जिल्लामा हुने गजल, कविता, बादविवाद, वकृत्ता, गीतसंगित आदिका प्रतियोगितामा पनि प्रमुख र सहायक निर्णयकको भूमिका समेत उहाँले निभाउने गर्नुहुन्थ्यो । ८० बर्ष कटेका बुबा र वृद्ध आमा, ३४ बर्षकी श्रीमती लक्ष्मी श्रेष्ठ, १० बर्षको छोरा शार्दुल श्रेष्ठ । छोरी ६ बर्षकी छोरीबाट सदाको लागि विदा हुनुभएका श्रेष्ठको अन्तिम संस्कार गर्दाको क्षणमा जम्मा भएका मानिसको हुलले पनि बताउथ्त्यो कि उहाँ कति लोपप्रिय ब्यक्लिाई जिल्लाले गुमायो भनेर ।

देउरालीघाटमा जब दिलु सरको चितामा उहाँको १० बर्षको एक अबोध पुत्र शार्दुलले दागबत्ति दिँदै थियो बातावरण सुनसान र स्तब्ध बन्यो । सेतो पिपिई लगाएको ब्यक्तिले लास चलाई रहँदा र त्यो बाबुले दागवत्ति दिँदाको स्थितिमा नरुने कोही रहेन । सबै घुँक्क घुँक्क रोइरहेको थिए घाटमा । विद्यार्थी वृद्ध, शिक्षक, साथी, पत्रकार नरुने सायदै कोही पनि भएन ।हेर्दा हेदै उहाँका मृत शरीर खरानी भयो । सबै भक्कानिएको मन बोकेर आआफ्नो घरघर लागे मसानघाटबाट ।

समाजमा पनि उहाँ निकै सहयोगी ब्यक्तिका रुपमा चित्रित हुनहुन्थ्यो । जसलाई जे समस्या परे पनि काँध थापिहाल्ने । कोही विरामी पर्यो मोटरसाइकलमा राखी दौडाई हाल्ने । कसैले अन्याय गर्यो भने हात समेत उठाउन पछि नपर्ने साहसिलो स्वभावको समेत हुनुहुन्थ्यो दिलु सर । उहाँको ब्यक्तित्वको बारेमा जति नै बखान गरे पनि कम हुन्छ यहाँ ।

उहाँका अनन्य मित्र गोविन्द खनालका अनुसार उहाँलाई गत बैशाख मसान्तबाटै श्वासप्रश्वासमा समस्या भएको रहेछ । त्यसपछि उहाँले कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचार गर्नुभयो । बीचमा निको भयो पनि । यही बीचमा ३ महिनाअघि भारतको गोरखपुरमा पनि उहाँको जाँच भएको रहेछ । उहाँको एमआरआइपछि उहाँमा बोन टिभी भएको प्रमाणित भएको रहेछ । त्यसपछि उहाँ विस्तारै कमजोर हुँदै जानु भएको खनालले मसंग बताउनु भयो ।

मैले १ महिना अघि गरेको कुराकानीमा उहाँले यति पीडा लुकारएर बोल्नु भएको रहेछ । बल्ल मैले पछि थाहा पाएँ । अरुको खुसीको लागि आफ्ना त्यस्तो जटिल पीडा पनि भुल्ने अरु दिलु श्रेष्ठहरु समाजमा कमै पाइन्छ । त्यसपछि उहाँमा खोकी देखियो । स्वास्थय जटिल बन्दै गएको रहेछ उहाँको । बीचमा फेरि ठिक भयो । तर पछि उहाँलाई फेरि कोरोना पनि थपियो ।

कोरोनाको कारण श्वास प्रश्वासमा थप समस्या हुँदै गयो । सामान्य उपचारको काबुबाट टाढा गइसक्नु भएका उहाँलाई अब भेन्टिलेटरको सहायता चाहिने भयो । अनि उहाँलाई रुपन्देहीको क्रिमसन अस्पतालमा ६ दिनअघि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको थियो । श्रेष्ठको भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा सबैले शीघ्र लाभको कामना गरे । तर कसैगरी उहाँलाई बचाउन सकिएन । जेठ २१ गते शुक्रबार मध्यान्ह १२ बजे उहाँको निधनको औपचारिक खबर बाहिरियो । यो खबर सुन्नासाथ कसैलाई पनि पत्यार भएन ।

कोरोनाले कपिलवस्तुका नेपाली भाषा तथा साहित्यका ज्ञाता दिलु श्रेष्ठलाई पनि नलगि छोडेन । उहाँको निधनले अहिले सिद्धार्थ क्याम्पस स्तब्ध बनेको छ । अगामी समयका प्रत्येक पलपलमा उहाँको अभाव खड्किने क्याम्पसका सहायक प्रधानाध्यापक गोविन्द खनालको महसुस छ । दिलु सरले त कलिलो उमेरमै हामीलाई छोडेर जानु भयो । उहाँले जीवनमा अंगाल्नु भएका मार्गलाई पछ्याउनु नै उहाँप्रति गरिने सच्चा श्रद्धाञ्जली हुने छ । फेरि पनि अलविदा मेरो प्रिय दिलु सर । हजुर अजरअमर हुनहुन्छ । हजुरलाई जीवनको अन्त्यसम्म कहिल्यै भुल्ने छैन ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८ शुक्रबार ००:००  ९ : ५२ बजे