१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

‘पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै भारी वर्षाको सम्भावना’



काठमाडौं ।
नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी वर्षासमेत हुने जानकारी दिनुभयो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ ।

त्यसले बागमती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ । मौसमविद्हरूका अनुसार सामान्य रूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो ।

यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो । अक्टोबर २ मा बाहिरिनेछ । सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिले कार्हीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ ।

प्राप्त विवरणअनुसार आज २१४ वटा वर्षा मापन केन्द्र ९मानव सञ्चालित ८५ र स्वचालित १२९० मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १०८ केन्द्रमा वर्षा भएको छ । उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८ शुक्रबार ००:००  ७ : ३५ बजे