१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

घट्दै दाङमा कोरोना संक्रमित, हुन थाले बेड खाली



दाङ ।
पछिल्लो समय दाङमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै गएको छ । दोस्रो लहरको कोरोना महामारी सुरु भएपछि कुनै समयमा संक्रमितको संख्या दैनिक ४०० भन्दा बढी र मृतक संख्या १७ जनासम्म पुगेको थियो ।

तर, पछिल्लो समय संक्रमण र मृत्युदर घट्दै आएको तथ्यांकमा देखिएको छ । गत बिहीबार ४४ जना नयाँ संक्रमित थपिए भने १३० जना संक्रमणमुक्त भएका थिए । सो अवधिमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिसिएमसी)ले जनाएको छ।

डिसिसिएमसीका अनुसार गत बैशाखदेखि हालसम्म ११ हजार ७४० जनाको पिसिआर परीक्षण गर्दा ७ हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४४६ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १०५ जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा र ३४१ जना होम आइसोलेसनमा रहेका छन् । यीमध्य १५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, सोही अवधिमा ६ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । गत बैशाखदेखि जेठ २७ गतेसम्म कोरोना संक्रमणका कारण १९१ जनाको मृत्यु भइसकेको छ । जसमध्ये तुलसीपुर उपमहानगरका ८० जना हुन् ।

दाङका विभिन्न अस्पताल तथा आइसोलेसनमा गरी ३५० वटा बेड छन् । कुने समयमा बेड अभाव हुँदा संक्रमितहरु बाहिरै उपचार गर्न बाध्य थिए । तर, पछिल्लो समय बेडहरु खाली छन् । अहिले १०५ वटा मात्र बेडहरु प्रयोग भएको डिसिसिएमसी दाङले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८ शुक्रबार ००:००  ७ : ४६ बजे