१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

लुम्बिनी प्रदेशः नीति तथा कार्यक्रम आज सदनमा टेबुल हुँदै



बुटवल ।

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशनको चौथो बैठक आज दिउँसो १२ बजे बस्दैछ । २५ जेठमा नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएपछिको यो पहिलो बैठक हो । आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुनेछ । १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण नीति तथा कार्यक्रममाथि बढिमा तीन दिन मात्र छलफल हुनेछ ।

आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सदनमा नीति तथा कार्यक्रम टेबुल गर्नेछन् । नीति तथा कार्यक्रम वाचन गरेकोमा प्रदेश प्रमुख धर्मनाथ यादवलाई धन्यावाद दिइने छ । त्यसपछि नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुनेछ ।

२५ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा विपक्षी गठबन्धनका प्रमुख सचेतकबाहेक सबै सांसदले बहिष्कार गरेका थिए ।विपक्षी गठबन्धनले सरकारले विश्वासको मत लिनुपर्ने माग उठाउँदै आएको छ । सरकार विश्वासको मत लिने प्रक्रियामा नगएकाले नीति तथा कार्यक्रम ल्याउनु संवैधानिक र राजनीतिक हिसाबले अनुचित रहेको विपक्षी गठबन्धनले बताउँदै आएको छ ।


नीति तथा कार्यक्रम बहिष्कार गरेका गठबन्धनका सांसदहरू छलफलमा भने सहभागी हुने भएका छन् । माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीमगरले नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुने बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८ शुक्रबार ००:००  १० : १६ बजे